
काठमाडौं : नेकपा एमालेले संसदीय बोर्ड गठन गरेको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहीबार बसेको संसदीय दलको बैठकले बोर्ड गठन गरेको हो।
बैठकले मुख्यगरी दुई वटा निर्णय गरेको सांसद शेरबहादुर तामाङले जानकारी दिए। सांसद तामाङका अनुसार २४ सदस्यीय बोर्डको गठन गरिएको छ। दलका नेता, उपनेता, प्रमुख सचेतक र सचेतक बोर्डमा पदेन सदस्य रहने उनले बताए।
बोर्डको प्रमुखमा दलका नेता केपी शर्मा ओली छन्। यस्तै सदस्यहरूमा उपनेता सुवास नेम्वाङ, वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल, शेरबहादुर तामाङ, रघुवीर महासेठ, भुपेन्द्र थापा, खेम लोहनी, सरिता दाहाल, विमला विक, विशाल भट्टराई, सचेतक शान्ता चौधरी, सुमन प्याकुरेल छन्।
यस्तै, विमला राई पौडेल, बिन्दा पाण्डे, राधा ज्ञवाली, दामोदर भण्डारी, विद्या भट्टराई, रेखा झा, नारदमुनि राना, मोहन बानियाँ र राजेन्द्र राई रहेको सांसद तामाङले बताए। उनले पार्टीको विधान संशोधन गर्नका लागि तीन सदस्यीय कार्यदल समेत निर्माण गरेको बताए। उनका अनुसार कार्यदलमा विशाल भट्टराई, शेरबहादुर तामाङ र विमला राई पौडेल रहेका छन्।
अर्को बैठक ७ गते बिहानका लागि बोलाइएको छ। आजको संसदीय दलको बैठक खनाल-नेपाल समूहले बहिष्कार गरेको थियो। बैठकमा अनुपस्थित भएपनि ओलीले नेता नेपाल र खनाललाई बोर्डमा राखेका हुन्।








