
काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले गत फागुन २३ गतेको सर्वोच्च अदालतको फैलासविरुद्ध पुनरवलोकनमा जाने तयारी थालेको छ । उक्त फैसलाको पुनरवलोकनका लागि आज माओवादीले कानून व्यवसायीसँग पारमर्श गरेको हो ।
सर्वोच्च अदालतले नेकपा (एमाले) र माओवादी केन्द्र एकीकरण गरी बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को एकता बदर गर्दै पूर्ववत् अवस्थामा फर्काउने निर्णय गरेको थियो । ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसँग नेकपाको नाम जुधेको भन्दै अदालतले पुुष्पकमल दाहाल ‘प्रचण्ड’ र केपी शर्मा ओलीले नेतृत्व गर्नुभएको नेकपा बदर गरी ती दुुई दललाई एकीकरण पूर्वको अवस्थामा पुु¥याइदिएको थियो । अदालतको फैसलाअनुसार दुवै दलले पूूर्ववत् अवस्थामा आ–आफ्नो गतिविधि अगाडि बढाएका छन् ।
माओवादी केन्द्रको संसदीय दलको कार्यालय सिंहदरबारमा भएको सो छलफलमा सहभागी कानून व्यवसायीले पनि सर्वोच्चले माग दाबीभन्दा बाहिर गएर फैसला गरेकाले पुुनरवलोकनमा जान सकिने सुुझाव दिएका सो पार्टीका प्रमुख सचेतक देवप्रसाद गुरुङले जानकारी दिनुुभयो । फैसलाको पुनरवलोकनका लागि ६० दिनभित्र प्रक्रिया अगाडि बढाउनुपर्ने कानूनी व्यवस्था छ ।
“पार्टी एकता बदर गर्ने सर्वोच्चको फैसला बेठीक छ भनेर पहिलेदेखि नै कानून व्यवसायीले भन्दै आएका थिए, यो फैसला न्यायिकभन्दा पनि राजनीतिक प्रकृतिको छ, मागदाबी नै नगरेको विषयमा फैसला गरिएको छ, त्यसकारणले छिटोभन्दा छिटो पुनरवलोकनमा जानुपर्छ भनेर कानून व्यवसायीको सुुझाव रह्यो”, उहाँले भन्नुुभयो, “अब छिट्टै निर्णय गरेर पार्टी अगाडि बढ्छ ।”
सर्वोच्च अदालतको फैसलाबाट जनप्रतिनिधिमूलक संस्था संसद् पुनःस्थापना भए पनि सरकारको पछिल्लो गतिविधि फेरि पनि संसद् विघटन गर्ने दिशातर्फ उन्मुख रहेको पनि माओवादीले निष्कर्ष निकालेको छ । सरकारले सदनलाई प्रभावकारीरुपमा अगाडि बढाउन आवश्यक ‘बिजनेस’ दिन नसकेको भन्दै माओवादीले असन्तुष्टिसमेत व्यक्त गरेको छ ।








