गृहपृष्ठ खबर दशरथ रंगशालामा भिड्दै त्रिभुवन आर्मी र श्रीलंका पुलिस

दशरथ रंगशालामा भिड्दै त्रिभुवन आर्मी र श्रीलंका पुलिस

प्रकाशित मिति:

काठमाडौं : एएफसी कप अन्तर्गतको प्रिलिमिनरी स्टेजमा आज त्रिभुवन आर्मी फुटबल क्लबले श्रीलंका पुलिस स्पोर्टिङ क्लबसँग प्रतिस्पर्धा गर्दैछ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ साढे ५ बजे हुने खेलमा आर्मी जितको लक्ष्यसहित उत्रने छ।

आर्मीका प्रशिक्षक नवीन न्यौपानेले टिम तयारी अवस्थामा रहेको बताए।

‘क्लब लाइसेन्स पाएदेखि नै हामीले तयारी सुरु गरेका थियौं। कीर्गिस्तानसँग पनि खेलियो। भोलिको म्याचलाई लिएर राम्रो तयारी भएको छ,’ प्रि म्याच कन्फ्रेन्समा प्रशिक्षक न्यौपानेले भने, ‘यो एउटा अवसर हो। यसलाई खेलाडीले पनि बुझेका छन्। यसलाई हामीले एउटा भर्‍याङका रुपमा लिएका छौं। जितकै लागि खेल्छौं।’

राम्रो अभ्यास भएको र टिमसेट मिलेकोले राम्रो प्रदर्शन हुने अपेक्षा रहेको प्रशिक्षक न्यौपानेले बताए। उनले पछिल्लो समय कीर्गिस्तानसँगको खेल र हेटौंडामा अफ्रिकी टिमसँगको खेलले पनि राम्रो अनुभव भएको बताए।

त्यस्तै आर्मीका कप्तान भरत खवासले आजको खेललाई लिएर राम्रो तयारी रहेको बताए। आफ्नो टीममा खासै फेरबदल नभएको र सधै खेलिरहेका खेलाडी नै साथमा रहेको बताउँदै त्यो आफ्नो प्लस प्वाइन्ट हुने बताए।

त्यस्तै श्रीलंकाका प्रशिक्षक झिआउ अल्पेन्सुले छोटो तयारीपछि आफूहरु नेपाल आएको बताए। काठमाडौको तापक्रम र मौसमको हिसाबले कोलम्बोको भन्दा फरक भएकाले खेलमा प्रभाव पर्न सक्ने चिन्ता व्यक्त गरे। उनले आफूहरु चुनौती लिएर नै नेपाल आएको बताए।

आर्मीले खेलका लागि २० लाख खर्च हुने अनुमान गरेको छ। प्रतियोगितामा अखिल नेपाल फुटबल संघ एन्फाले प्राविधिक रुपमा सहयोग गर्ने र साथै सहजीकरणका लागि सहयोग गर्ने बताइएको छ।

आर्मीले साधारणतर्फ ३०० र भीआईपीतर्फ ५०० मूल्य निर्धारण गर्ने तयारी अघि बढाएको छ। एसियन फुटबल कन्फिडरेसन एएफसीले भने ५० प्रतिशत दर्शक स्टेडियममा भित्र्याउने मिल्नेगरी अनुमति दिइएको बताइएको छ।

सम्बन्धित् समाचार