सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले एमाले मन्त्रीहरुले दिएको राजीनामा स्वीकृत गरेका छन्। तीन दिनअघि आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला, सामाजिक विकास मन्त्री दल रावल र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिं बुढाले आफनो पदबाट राजीनामा दिएका थिए। आज मुख्यमन्त्री शाहीले तीनैजना मन्त्रीको राजीनामा स्वीकृत गरेका हुन्।
मुख्यमन्त्री शाहीले राजीनामा स्वीकृत गरेपश्चात रिक्त रहेको आर्थिक मामिला तथा योजना मन्त्रालय र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीलाई र भौतिक पूर्वाधार विकास मन्त्रालय र सामाजिक विकास मन्त्रालयको जिम्मेवारी भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीलाई दिएका छन्।
एमालेका तर्फबाट मन्त्री बनेका खड्क बहादुर खत्रीलाई यसअघिनै बैंकिङ कसुरको आरोप लागेपछि मुख्यमन्त्री शाहीले बर्खास्त गरेका थिए। खत्रीलाई बर्खास्त गरेदेखि भौतिक पूर्वाधार मन्त्रालय मुख्यमन्त्री आफैँले सम्हाल्दै आएका थिए।
नेकपा एमालेका तर्फबाट मन्त्री बनेका ज्वाला, रावल र बुढाले आफ्नो दलले समर्थन फिर्ता लिएको भन्दै राजीनामा दिएका थिए।
कर्णालीमा माओवादी केन्द्रबाट मुख्यमन्त्री सहित तीन मन्त्री थिए भने, एमालेका तर्फबाट चार जना मन्त्री बनेका थिए।








