गृहपृष्ठ खबर कपिलवस्तुमा सशस्त्रका एक जवानसहित ७ कोरोना संक्रमितको मृत्यु

कपिलवस्तुमा सशस्त्रका एक जवानसहित ७ कोरोना संक्रमितको मृत्यु

कपिलवस्तु : कपिलवस्तुमा कोरोना संक्रमणबाट शुक्रबार सात जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा एक जना सशस्त्रका नायब निरीक्षक पनि रहेका छन् । सशस्त्रको २८ नम्बर गणमा दरबन्दी भइ यशोधरा गाउँपालिका अन्तर्गत डंगरी बीओपीमा कार्यरत नायब निरीक्षकको मृत्यु भएको हो ।

त्यस्तै सोही गाउँपालिकाकै अर्का एक पुरुषको पनि मृत्यु भएको छ । दुवै जनाको तौलिहवास्थित जिल्ला अस्पतालमा उपचार हुँदाहुँदै बिहान मृत्यु भएको हो । शिवराज नगरपालिकाका दुई पुरुष र कपिलवस्तु नगरपालिकाका दुई पुरुषको पनि मृत्यु भएको छ । त्यस्तै वाणगंगा नगरपालिकाका एक पुरुषको पनि मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयका कोरोना नियन्त्रण फोकल पर्सन उमेश घिमिरेले बताए ।

यशोधरा गाउँपालिका बाहेकका अन्यको मृत्यु घरमै आइसोलेसनमा बसेको बेला मृत्यु भएको हो । जिल्लामा संक्रमणबाट मृत्यु हुनेको संख्या ११७ पुगेको छ । जिल्लामा कोरोनाका सक्रिय संक्रमित बढेर १४२० पुगेको छ । यता बाणगंगामा ५६ जनामा कोरोनामा संक्रमण देखिएको छ ।

गत २७ गते गरिइएको ८६ जनाको पिसिआर रिर्पोट मध्य ५६ जनामा कोरोना संक्रमण देखिएको हो । संक्रमण देखिइएका सबैको अवस्था अहिले सामान्य रहेको र लक्षण पनि कसैमा नदेखिइएको बाणगंगा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेलले बताए ।

सम्बन्धित् समाचार