गृहपृष्ठ खबर बाँकेमा थप पाँच जना कोरोना सङ्क्रमितको उपचारका क्रममा मृत्यु

बाँकेमा थप पाँच जना कोरोना सङ्क्रमितको उपचारका क्रममा मृत्यु

बाँके अस्पतालमा भर्ना भएका थप पाँच जना सङ्क्रमितको उपचारको क्रममा मृत्यु भएको छ ।

कोरोनाको उपचार हुँदै आएको नेपालगञ्जस्थित भेरी अस्पतालमा तीन र शिक्षण अस्पताल कोहलपुरमा दुई जनाको मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति तेज वलीले जानकारी दिए ।

उनका अनुसार, भेरी अस्पताल नेपालगञ्जमा कोरोना भाइरस सङ्क्रमणका कारण ५ महिने गर्भवतीको मृत्यु भएको छ । ठाकुरबाबा नगरपालिका- १ बर्दिया निवासी ३४ वर्षीया गर्भवतीको आज बिहान मृत्यु भएको हो ।

यसैगरी भेरी अस्पतालमै उपचाररत नेपालगञ्ज उपमहानगरपालिका- १९ निवासी ३९ वर्षीय पुरुष र बनागाड कुपिन्डे नगरपालिका- ४ सल्यान निवासी ६० वर्षीया महिलाको मृत्यु भएको छ ।

बाँकेको कोहलपुरस्थित शिक्षण अस्पतालमा कोहलपुर नगरपालिका- ९ निवासी ६१ वर्षीय पुरुष र गुलरिया नगरपालिका- १० बर्दिया निवासी ६० वर्षीय पुरुषको मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति वलीले जानकारी दिए ।

योसँगै बाँकेमा कोभिड सङ्क्रमणका कारण उपचारका लागि जिल्ला बाहिरबाट आएका १७५ र जिल्लाकै २२९ जनाले हालसम्म ज्यान गुमाइसकेका छन् ।

सम्बन्धित् समाचार