हरि घिमिरे, जितपुर कपिलवस्तु
छोरीको मुख हेरेर बसेकी एक आमाले उनको सपना पूरा गर्न कुनै रोग, भोकको प्रवाह नभएको बताउनु भएको छ । छोरीको साहरामा मात्र बाँचेकी उहाँले कोरोना महामारीको समय भए तापनि उनको लागि कहिले साईकलमा तरकारी बेचेर त कहिले ठेलामा मकै पोलेर उनको भविष्य उज्ज्वल पार्ने सपना देख्नु भएको छ । उहाँ हुनुहुन्छ कपिलवस्तुको बाणगंगा वडा न।१ बैरीयामा कोठा भाडामा बस्ने लक्ष्मी पाण्डे ।
कहानी जस्तो लाग्न सक्छ यो एक आमाको यथार्थ कहानी हो । उहाँको १३ बर्षको उमेरमा विवाह भएको थियो अहिले उहाँ २१ बर्षको हुनु भयो । बच्चामै विवाह भए ता पनि १६ बर्ष उमेर हुदाँ उहाँको कोख बाट छोरी जन्मिइन् । छोरी अहिले ५ बर्षकी भइन् । अर्घाखाँची जिल्लाको शितगंगा १३मा उहाँको माईती घर हो । उहाँ विवाह भएको केही समय पछि कपिलवस्तु आउनु भयो । कपिलवस्तु आउनुको तात्पर्य सानै उमेरमा विवाह भए तापनि परिवार खुसी र सुखका साथ बसौँला भन्ने सपना थियो ।
कपिलवस्तुको गजेहडामा कोठा भाडामा बसेर केही गर्नु पर्छ भन्ने अठोटका साथ र्पालर सिक्न तर्फ लाग्नु भयो । केही महिना पार्लर सिकेपछि उहाँको मनमा व्यवसाय गर्न मन लाग्यो र र्पालर खोल्नु भयो । र्पालरको व्यवसाय पनि त्यति राम्रोसंग चल्न सकेन र त्यो व्यवसाय संचालन गर्न परिवारको साथ र सर्मथन पनि भएन त्यसपछि बन्द गर्नु परेको उहाँ बताउनु हुन्छ । पार्लर त कसैको साथ नपाएपछि बन्द भयो त्यसको रिन तिर्न पनि अझै बाँकि रहेको गह भरि आँशु झार्दै भन्नु हुन्छ । आफ्नो भन्ने जीवन साथिले साथ छोडे पछि पनि उहाँले हिम्मत हार्नु भएन रिन तिर्ने बाचाका साथ गजेहडाको कोठा छाडेर उहाँ बाणगंगा २ को पिपरामा सर्नुभयो त्यहाँ उहाँको करिब १ बर्षको बसाई भयो ।
पिपरा गएपछि एउटा ठेला किन्नु भयोर छोरीलाई कोखमा च्यापेर १ बर्षसम्म उहाँले चटपटेको व्यापार गर्नु भयो । चटपटेको व्यापारले पनि उहाँलाई खाने खर्च सम्म जुटाउन धौधौ जस्तो भयो । उहाँले सोच्नु भयो यो अवस्थाले पनि छोरीको सपना पूरा गर्न सक्दिन कि भन्ने ठानेर त्यो व्यवसाय पनि छोड्न बाध्य हुनु भयो । व्यवसाय छोडेको केही समय पछि उहाँ फेरी बाणगंगा वडा न। १को बैरीयामा डेरा सर्नुभयो र अर्को व्यवसाय संचालन तर्फ लाग्नु भयो । बैरीयामा उहाँले हाट बजारमा मकै बेच्ने तथा च्याउको तरकारी बेच्ने गर्न लाग्नु भयो सोही क्रममा जारी थियो कोरोना महामारीका कारणले लकडाउन भयो ।
जस्तो सुकै लकडाउन भए तापनि घरबेटीले भाडा नछोड्ने भएपछि उहाँले सस्तो भाडाको कोठा खोजेर बाणगंगा वडा न। ८ मा बस्न थाल्नु भएको छ । यस्तो भयावह माहमारीको अवस्था आउन थालेपछि उहाँलाई अझै अफ्ठ्यारो स्थिति आयो र उहाँले आफूलाई जे भए पनि कुनै रोगको प्रवाह नगरी ती सानी छोरीको लागि साईकलमा साँझ बिहान तरकारी बेच्न लागेको सुनाउनु भयो । कसैको साथ, भरोसा नभए पछि उहाँले जसरी भए तापनि जस्तोसुकै कडा परिश्रम गर्नुपरे पनि रोग संग लड्दै छोरीको सपना पुरा गर्ने अठोट गर्नु भएको छ ।