कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सोमबार तेस्रो पटक मन्त्रिपरिषद् विस्तार गरे । सोमबार माओवादी केन्द्रका सांसदद्वय गोपाल शर्मा र सीता नेपालीले मन्त्रीको शपथ लिए ।
मुख्यमन्त्री शाहीले कर्णाली प्रदेशसभामा विश्वासको मत लिँदा फ्लोरक्रस गरेका एमालेका अमर थापा, कुर्मराज शाही र नन्दसिंह बुढालाई पहिलो चरणमा मन्त्री बनाएका थिए । तर, विश्वासको मत दिएको कांग्रेसले नाम नदिँदा मुख्यमन्त्री शाहीले मन्त्री नियुक्त गर्न सकेका थिएनन् । लामो समयको अन्तरालपछि माओवादी केन्द्रका सांसदहरूको दबाबमा मुख्यमन्त्री शाहीले आफ्नै पार्टीका तीन सांसदलाई मन्त्री नियुक्त गरेका थिए ।
आफ्नै पार्टीका विन्दमान विष्ट, गोपाल शर्मा र सीता नेपालीलाई मन्त्री नियुक्त गरेपछि कांग्रेसले दुई मन्त्रालय माग्यो । मुख्यमन्त्री शाहीलाई विश्वासको मत दिँदा कांग्रेस कर्णाली प्रदेशका संसदीय दलका नेता जीवनबहादुर शाहीलाई ६ महिनापछि मुख्यमन्त्री बनाउने र अहिले एक जनालाई मन्त्री बनाउने सहमति भएको थियो । तर, सहमतिभन्दा बाहिर गएर कांग्रेसले अहिले दुई मन्त्रालयमा माग गरेको माओवादीका एक सांसदले बताए ।
‘अहिले कांग्रेसले दुई मन्त्रालय माग गर्न थाल्यो । खोई किन हो कांग्रेस सहमतिभन्दा बाहिर गएर बागर्नेनिङ गर्न थालेको छ,’ ती सांसदले भने, ‘तर, हामी दुई मन्त्रालय दिन तयार छौँ ।’
जिल्लाराम भए विन्दमान
मुख्यमन्त्री शाहीलाई सुरुदेखि नै सहयोग गर्दै आएका विन्दमान विष्ट मन्त्रीमा नियुक्त भएर पनि जिल्लिएका छन् ।
गत बुधबार आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारी र आर्थिक मामिला तथा योजनामन्त्री विमला केसीलाई राजीनामा गर्न लगाएर मुख्यमन्त्री शाहीले आन्तरिक मामिला, कानुन तथा युवा खेलकुदमन्त्रीमा विन्दमानविष्ट, आर्थिक मामिला तथा योजनामन्त्रीमा गोपाल शर्मा र भौतिक विकास पूर्वाधार मन्त्रालय फुटाएर उर्जा तथा जलस्रोतमन्त्रीमा सीता नेपालीलाई नियुक्त गरे ।
बिहीबार दिउँसो ११ बजे तोकिएको शपथग्रहण कार्यक्रम मुख्यमन्त्री शाहीले स्थगन गरे । शुक्रबार आफैँले पाँच मन्त्रालय आफ्नो भागमा राखे । सोमबार मुख्यमन्त्री शाहीले आन्तरिक मामिला, कानुन तथा युवा खेलकुदमन्त्रीमा सीता नेपाली र आर्थिक मामिला तथा योजनामन्त्रीमा गोपाल शर्मालाई नियुक्त गरे। नियुक्तिसँगै उनीहरूले कार्यभार सम्हालिसकेका छन् ।







