नेपाली कांग्रेसले संविधान र लोकतन्त्र रक्षाका लागि अरू दलहरूसँग छलफल गर्ने भएको छ।
राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (५) अनुसार सरकार गठन गर्न आज अपरान्ह ५ बजेसम्म समय दिएकी थिइन्।
कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बसेको पदाधिकारी बैठकले संविधान र लोकतन्त्र रक्षा गर्न तथा प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प खोज्न सबै विकल्पबारे छलफल गर्ने निर्णय गरेको छ।
साथै राष्ट्रपतिले नयाँ सरकार गठन गर्न समय कम दिएकोमा कांग्रेसले आपत्ति जनाएको छ।
संविधानको धारा ७६ (३) अनुसार नियुक्त प्रधानमन्त्री ओलीले विश्वासको मत नलिई र राजीनामा नदिई नयाँ सरकार गठन गर्न राष्ट्रपतिले आह्वान गर्नुलाई कांग्रेसले संविधानको मर्म र भावनाविपरीत भएको निश्कर्ष निकालेको सहमहामन्त्री प्रकाशशशरण महतले बताए।
‘संविधानको मर्म र भावना कुल्चने काम प्रधानमन्त्रीले गर्दै आएको र राष्ट्रपतिले त्यो प्रवृत्तिलाई सघाएको हाम्रो निश्कर्ष छ,’ उनले भने, ‘संविधान र लोकतन्त्र रक्षाका लागि हामी सबै विकल्पबारे दलहरूसँग आजै छलफल गरी निश्कर्षमा पुग्छौं।’







