कपिलवस्तु : सरकारले गैर संवैधानिक र अलोकतान्त्रिक गतिविधि गर्दै लोकतान्त्रिक मूल्य मान्यताको अवमूल्यन, विधि र पद्धतिको बेवास्ता र संसदीय पद्धतिको खिल्ली उडाउने काम गरेको भन्दै नेपाली काँग्रेस कपिलवस्तुले एक विज्ञप्ति जारी गरी भर्त्सना गरेको छ । नेपाली काँग्रेस कपिलवस्तुका सभापति सुरेन्द्रराज आचार्यद्वारा जारी विज्ञप्तिमा भनिएको छ प्रधानमन्त्री के.पी. शर्मा ओलीले प्रतिनिधि सभामा ३० दिन भित्र विश्वासको मत लिन नसक्ने भनी मन्त्री परिषद्बाट निर्णय गराई राष्ट्रपतिलाई अर्को सरकार गठनको लागी सिफारिस गर्दै सार्वजनिक रूपमै विश्वासको मत लिन नसक्ने घोषणा गरेका थिए । प्रधानमन्त्रीको उक्त कदमसँगै राष्ट्रपति विद्यादेवी भण्डारीले छोटो समय दिई अर्को सरकार गठनको प्रक्रिया प्रारम्भ गरिन । राष्ट्रपतिको आह्वानसँगै नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधि सभामा तत्काल कायम रहेको सदस्य सङ्ख्याको स्पष्ट बहुमत १ सय ४९ जना सांसदहरूको हस्ताक्षर सहित प्रधानमन्त्रीमा दाबी प्रस्तुत गरे । नेपालको संविधान बमोजिम राष्ट्रपतिद्वारा देउवालाई तत्काल प्रधानमन्त्रीमा नियुक्त गर्नुपर्नेमा बेवास्ता गरी प्रतिनिधि सभाबाट विश्वासको मत लिन असफल संसद्मा अल्पमतमा परिसकेका र अर्को पटक बहुमत देखाउन नसक्ने स्वयं घोषणा गरी सकेका ओलीलाई प्रधानमन्त्रीमा निरन्तरता दिने काम गरिएको आचार्यद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमा नेपालको संविधानको भावना अनुसार ओली प्रधानमन्त्रीका लागि दाबी गर्न नसक्ने प्रस्ट व्यवस्था भएता पनि उक्त गैर संवैधानिक दाबीलाई स्वीकार गरी पुनः ओलीलाई नै प्रधानमन्त्रीमा निरन्तरता दिने कार्य असंवैधानिक मात्र होइन अनैतिक भएको उल्लेख छ । राष्ट्रपति र प्रधानमन्त्रीको वदनियतपूर्ण ढङ्गले मिलेमतोमा षडयन्त्रपूर्वक भएका छन् भन्ने तथ्य सबै नेपाली जनता सुतेको वेला मध्यरात मन्त्री परिषद्को बैठक बसी प्रतिनिधि सभाको हत्या गरेको घटनाबाट प्रमाणित भएको र राष्ट्रपति र प्रधानमन्त्रीले षडयन्त्र गरी पदको चरम दुरुपयोग गरी नेपालको संविधान समाप्त गर्न उद्धत रहेको नेपाली काँग्रेस कपिलवस्तुको ठहर गरेको जारी विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमा सबै किसिमका कार्यक्रममा लोकतन्त्रवादी शक्ति, राजनैतिक दल, नागरिक समाज मानवअधिकार कर्मी, पेसाकर्मी, बुद्धिजीवी, पत्रकार, उद्योग व्यवसायी लगायत सवैमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र र नेपालको संविधानको रक्षाका लागी आह्वान गरिएको छ ।








