गृहपृष्ठ Featured अस्पताल चहार्दाचहार्दै बुवा गुमाएका आदर्श भन्छन्, ‘मिर्गौलापीडितले बाँच्न त प्रधानमन्त्री नै हुनुपर्ने रहेछ’ (भिडियाे)

अस्पताल चहार्दाचहार्दै बुवा गुमाएका आदर्श भन्छन्, ‘मिर्गौलापीडितले बाँच्न त प्रधानमन्त्री नै हुनुपर्ने रहेछ’ (भिडियाे)

‘हस्पिटल चहार्दाचहार्दै मिर्गौलापीडित मेरा बुवा अकालमै बित्नुभयो’, स्ट्यान्ड–अप कमेडियन आदर्श मिश्राले भने, ‘यसको जिम्मेवार वीरगञ्जको नेसनल मेडिकल कलेज र नारायणी अस्पताल हुन् ।’ उनी अहिले बुवाकाे किरिया गर्न बसेका छन् ।

आदर्शका बुवा विनोद मिश्रा मंगलबार बिहान बितेका थिए । चार वर्षदेखि मिर्गौलाका बिरामी उनले सातामा दुई पटक डायललिसिस गराउनुपर्थ्यो । यसका लागि उनी वीरगञ्जस्थित नेसनल मेडिकल कलेज जाने गरेका थिए । तर, पछिल्लो पटक उनलाई मेडिकल कलेजले कोरोना भाइरसको पीसीआर रिपोर्ट ल्याए मात्र डाइलिसिस गरिदिने बतायो ।

उनको स्वाथ्यस्थिति बिग्रँदो थियो । त्यसपछि विनोदलाई छोरा आदर्शले नारायणी अस्पताल लगे । बिनोदमा कोरोना भाइरस पोजिटिभ देखिएको थियो । नारायणी अस्पतालले कोभिड पोजिटिभ मिर्गौलापीडितको डायलिसिस गराउँदै आएको छ ।

‘नारायणी अस्पतालमा काम गर्ने नर्स दिदीले मलाई झुक्याउनुभयो । उहाँले दुइटै मेसिन बिग्रेको छ भन्नुभयो तर एउटा मात्र बिग्रेको रहेछ । यसबारे सूचना निकालेको छ भन्नुभएको थियो तर सूचना निकालिएकै थिएन’, आदर्शले भने । डाक्टरले ४ घण्टा डायलिसिस गराइदिनू भन्न्ने निर्देशन दिए पनि ती नर्सले ३ घण्टा मात्रै गरिदिएको आदर्शले बताए ।

‘उहाँ (नर्स) त एक घण्टा छिटै घर पुग्नुभयो हाेला तर मेरो बुवा घर फिर्न पाउनुभएन’, आदर्श भावुक बने, ‘बुवा गुमाउनुपर्दा म जति धेरै दुःखी छु त्योभन्दा ज्यादा नेसनल मेडिकल कलेज (एनएमसी) र नारायणी अस्पतालको रवैयाले मलाई दुखाएको छ ।’

नारायणी अस्पतालका कोभिड फोकल पर्सन सरोज रोशन दासले भने, ‘आदर्शले डायलिसिसपछि बिरामी बुवालाई अन्त नलगेको भए हुन्थ्यो । म आफैँ लागेर उहाँको हेरचाह गरिरहेको थिएँ । ज्वरो घटाउन सकिन्थ्यो ।’ उनले आफूहरूको तर्फबाट कुनै कमजोरी नभएको दाबी पनि गरे ।

एनएमसीको दादागिरी

४ वर्षदेखि आफ्नो बुवाको डायलिसिस गराउँदै आएको र प्रत्येकपल्ट एनएमसीलाई ३५ सय रुपैयाँका दरले पैसा बुझाएको आदर्शले बताए । ‘तर, हेर्नोस् न, हामी अप्ठेरोमा हुँदा उपचार गर्न सक्दैनाैँ भनेर फर्काइदियो । हामीलाई हप्कीदप्की गर्‍यो ।’

उनका अनुसार प्रश्न गर्ने वा अन्यायपूर्ण कामको विरोध गर्नेलाई एनएमसीले गुण्डा लगाएर चुप बनाउने गरेको छ । ‘किनकि, एनएमसीको फाउन्डर बसरूद्दीन अन्सारी हुन् । प्रधानमन्त्री केपी ओलीको मिर्गौला प्रत्यारोपण गर्दा सबै खर्च आफू एक्लैले बेहोरेको उनले सगौरव बताएका थिए । यहाँ उनले जे गल्ती गरे पनि कसैले औँला उठाउन सक्दिैन’, मिश्राले भने ।

एनएमसीले निराश बनाएपछि बिरामी बुवा लिएर आदर्श नारायणी अस्पताल पुगेका थिए । तर, त्यहाँ पनि लापरवाही भएको लागेपछि आदर्शले आफ्ना बुवालाई रातारात भरतपुर अस्पताल पुर्‍याए । ‘राति म चित्कार गरिरहेको थिएँ– डाक्टरसा’ब बुवाको ज्वरो १०५ पुगिसक्यो । आइसीयू मिलाइदिनु न, बाबाको होस छैन सर, धेरै गाह्रो भइसक्यो । यसो भन्दाभन्दै बिहानको १० बजे बाबा बित्नुभयो ।’

आफ्ना बिरामी बुवाकाे उपचारमा अनेक किसिमका झमेला सहन गर्दै आएकाे गुनासाे आदर्शले फेसबुक, ट्विटरमार्फत बारम्बार गरिरहेका थिए । तैपनि, उनले आफ्ना बुवा बचाउन सकेनन् ।

‘देशको प्रधानमन्त्रीको किड्नी फेल भएको थियो । उहाँलाई अहिले पक्कै समस्या छैन । तर, उहाँबाहेक देशमा जति पनि मिर्गौलापीडित छन्, ती सबै गम्भीर समस्यामा छन् । सरकारी संयन्त्रकै खेलाँचीले जोखिममा छन्’, आदर्शले भने ।

अस्पतालमा मिर्गौलापीडितले झेल्नुपरेका दुःख दर्साउने यो प्रतिनिधि घटना भएको भन्दै फेसबुक, ट्विटर प्रयोगकर्ताहरूले प्रतिक्रियाहरू जनाइरहेका छन् । यस क्रममा कतिपयले मिर्गौलासम्बन्धी स्पष्ट र बिरामीमैत्री कानुनकै आवश्यकता औँल्याइरहेका छन् भने धेरैले चाहिँ खेलाँची गर्ने अस्पतालमाथि कारबाही माग गरेका छन् ।

सम्बन्धित् समाचार