धनगढी : नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्ष कर्ण थापाले पार्टीको निर्णय विपरीत जाने नेतालाई कारबाही गर्ने चेतावनी दिएका छन्। केन्द्रको निर्देशन विपरीत सरकारलाई दिएको समर्थन फिर्ता नगर्ने निर्णय वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल पक्षले निर्णय गरेपछि थापाले कारबाहीको चेतावनी दिएका हुन्।
एमाले स्थायी कमिटीको बैठकले सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो। मन्त्रीहरुलाई सरकार छाड्न पनि निर्देशन दिएको थियो। तर वरिष्ठ नेताद्वय खनाल र नेपाल पक्षले सरकारलाई दिएको कायम राख्ने निर्णय गरेको हो।
निर्णय विपरीत जाने मन्त्री तथा प्रदेशसभा सदस्यहरूलाई कारबाही गरिने थापाले बताएका छन्। उनले मन्त्रीहरूलाई सरकारबाट फिर्ता हुन पत्र समेत पठाइसकेको बताए।
‘पार्टी अनुशासनको उल्लङ्घन मात्रै होइन, यो पार्टीविरुद्ध दुस्मनीपूर्ण आपराधिक कार्य हो। यो क्षम्य हुन सक्दैन। त्यसैले पहिलो चरणमा उहाँहरूसँग स्पष्टीकरण सोधिन्छ त्यसपछि विधान अनुसार कारबाही हुन्छ,’ उनले भने।
तीनै जना मन्त्रीलाई फिर्ता भएर एमाले नेतृत्वमा सरकार बनाउन सहयोग गर्न निर्देशन दिइएको उनको भनाई छ। प्रदेश कमिटी अध्यक्ष थापा र सचिव राजेन्द्रसिंह रावलले सचेतकसहित तीनै मन्त्रीलाई फिर्ता हुन पत्र पठाएका हुन्।
प्रदेश सरकारमा एमालेबाट आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश शाह, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री माया भट्ट र सामाजिक विकास मन्त्री कृष्णराज सुवेदी छन्। तिनै जना नेपाल समूहका हुन्।
प्रदेश सभामा एमालेका २५ सांसद छन्। सुदूरपश्चिममा प्रधानमन्त्री केपी शर्मा ओली समूह कमजोर छ। ओली पक्षका ६ मात्र सांसद छन्। नेपाल पक्षले साथ दिएमा मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत प्राप्त गर्न कुनै कठिनाइ छैन।