नयाँ दिल्ली : भारतमा कोरोना भाइरस महामारीबाट संक्रमितमध्ये विगत २४ घण्टामा थप तीन हजार २०७ जनाको मृत्यु भएको छ । यो सहित भारतमा कोभिड-१९ संक्रमितमध्ये कूल तीन लाख ३५ हजार १०२ जनाको ज्यान गइसकेको छ ।
केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार विगत २४ घण्टामा एक लाख ३२ हजार ७८८ जना नयाँ संक्रमित थपिएका छन् । यो सहित
भारतमा बुधबारसम्म कूल संक्रमितको संख्या दुई करोड ८३ लाख नाघेको छ । तर संक्रमितमध्ये दुई करोड ६१ लाख ७९ हजार निको भएका छन् । अझै १७ लाख ९३ हजार व्यक्ति सक्रिय संक्रमित अवस्थामै रहेका छन् । तर यो संख्या विगत २४ घण्टामा एक लाखले कमी आएको हो ।
मन्त्रालयका अनुसार भारतमा पछिल्ला केही दिनदेखि संक्रमितको संख्यामा निकै कमी आएको छ ।
भारतमा गत जनवरी १६ देखि राष्ट्रव्यापी खोप अभियान थालनी गरिएको थियो । हालसम्म देशभर करिब २१ करोड ८० लाख डोज खोप लगाइएको छ । तर भारतका कैयौं स्थानमा खोपको अभाव देखिएको तथा खोप केन्द्रहरुमा मानिसहरुको ठूलो भिड लागेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।







