गृहपृष्ठ खबर राजेन्द्र महतोको अभिव्यक्तिको विरोधमा उत्रिएका ११ जना पक्राउ

राजेन्द्र महतोको अभिव्यक्तिको विरोधमा उत्रिएका ११ जना पक्राउ

राजेन्द्र महतोको अभिव्यक्तिको विरोधमा उत्रिएका नेकपा (एमाले) को झलनाथ खनाल( माधवकुमार नेपालपक्षका विद्यार्थी नेताहरूलाई प्रहरी पक्राउ परेको छ। उपप्रधान तथा शहरी विकासमन्त्री नियुक्तलगत्तै दिएको अभिव्यक्तिको विरोधमा उत्रिएका अनेराश्ववीयुका अध्यक्ष र महासचिव सहित ११ जना विद्यार्थी नेतालाई प्रहरीले काठमाडौंको बानेश्वरबाट पक्राउ गरेको हो।

पक्राउ परेका सबै ११ जनालाई महेन्द्र पुलिस क्लबमा राखिएको छ। उनीहरूलाई प्रहरीले कुटपीटसमेत गरेको थियो। अध्यक्ष सुदेश पराजुली र महासचिव आरती लामासहित महतोको अभिव्यक्तिमाथि विरोध गर्दै गर्दा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।

महतोले मन्त्रीको शपथग्रहणलगत्तै‌ नेपाललाई बहुराष्ट्र र बहुराज्य बनाउने मुक्ति आन्दोलन चलाइरहेको बताएका थिए । उक्त अभिव्यक्तिविरुद्ध नेकपाकै नेताहरूले विरोध जनाइरहेका छन्।

यसैबीच नेकपा (एमाले) को झलनाथ खनाल- माधवकुमार नेपालपक्षका १८ जनसंगठनले उपप्रधानमन्त्री राजेन्द्र महतोले संविधानविरोधी अभिव्यक्ति दिएको भन्दै तत्काल माफी माग्न उपप्रधान तथा सहरी विकासमन्त्री राजेन्द्र महतोलाई आग्रह गरेका छन्।

शनिबार संयुक्त विज्ञप्ति जारी गर्दै ती संगठनले मन्त्री महतोको अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

शुक्रबार मन्त्रीको शपथ लिएकै दिन उनले आफू ‘बहुल राष्ट्रिय राज्यको स्थापनाको लागि राष्ट्रिय मुक्ति आन्दोलनको तयारी’मा रहेको भन्ने अभिव्यक्ति दिएपछि विवादमा मुछिएका हुन्।

सम्बन्धित् समाचार