गृहपृष्ठ खबर मुख्यमन्त्री गुरुङ भन्छन्- विपक्षीको बहुमत पुग्ने देखिन्न

मुख्यमन्त्री गुरुङ भन्छन्- विपक्षीको बहुमत पुग्ने देखिन्न

प्रकाशित मिति:

पोखरा : गण्डकी प्रदेशसभामा विश्वासको मत पाउन प्रस्ताव पेस गरेका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विपक्षीको बहुमत पुग्ने अवस्था नरहेको बताएका छन् । बिहीबार जारी संसद् बैठकमा उनले विपक्षीको बहुमत नपु्ग्ने एक महिनाअघि नै पुष्टि भएको बताए । उनले कसैको बहुमत नपुग्दा संविधानबमोजिम अघि बढ्ने जनाए ।

यसअघि विपक्षी गठबन्धनले ल्याएको अविश्वास प्रस्तावमाथि मतदान गर्ने बेला वैशाख १५ मा राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाही बेपत्ता भएको सूचनापछि प्रदेशसभा बैठक स्थगित भएको थियो । त्यसपछि वैशाख २७ मा अविश्वास प्रस्तावमाथि मतदानको कार्यसूची तय गरिएकोमा त्यसको अघिल्लो दिन नै मुख्यमन्त्री गुरुङले राजीनामा दिएका थिए । प्रदेश प्रमुख सीताकुमारी पौडेलले तीन दिनभित्र दुई वा त्यसभन्दा बढी दललाई सरकार गठनका लागि आह्वान गरेकी थिइन् ।

मुख्यमन्त्रीविरुद्ध गठबन्धन बनाएका विपक्षीले बहुमत दाबी गर्दै प्रदेशप्रमुखसमक्ष गए पनि बहुमत नपुगेको भन्दै प्रदेश प्रमुखले गुरुङलाई नै ठूलो दलको नेताका हैसियतले मुख्यमन्त्री नियुक्त गरेकी थिइन ।

सरकार बचाउने र बनाउने दुवै पक्षलाई ३१ सांसदको आवश्यकता पर्छ । प्रदेशसभामा एमालेका २७ सांसद छन् । स्वतन्त्र सांसद राजीव गुरुङ ९दीपक मनाङे० मन्त्री बनाइएपछि मुख्यमन्त्रीको पक्षमा थिए । तर उनी प्रदेशसभा भंग गर्न नहुने भन्दै विपक्षी गठबन्धनलाई सघाउने आशयसाथ आजै बिहानदेखि सम्पर्कविहीन भएका छन् । उनी संसद् बैठकमा उपस्थित भएका छैनन् । राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापाले पनि पार्टीमा विद्रोह गरी मुख्यमन्त्रीमा गुरुङलाई सघाउने भन्दै आएका छन्।

बैठकमा मुख्यमन्त्री गुरुङद्वारा विश्वासको मत माग्दै पेस गरिएको प्रस्तावमाथि छलफल चलिरहेको छ ।

सम्बन्धित् समाचार