काठमाडौं : नेपाली राष्ट्रिय महिला भलिबल टिमको बन्द प्रशिक्षण मंगलबारदेखि त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा सुरु भएको छ ।
आगामी अगष्ट–सेप्टेम्बरमा फिलिपिन्समा हुने एसियन सिनियर महिला भलिबल च्याम्पियनसिपलाई मध्यनजर गर्दै नेपाल भलिबल संघ (एनभीए)ले नेपाली महिला भलिबल टिमले बन्द प्रशिक्षण सुरु गरेको हो ।
लामो प्रयासपछि भलिबल खेलाडीको बन्द प्रशिक्षण सुरु भएको एनभीएका उपाध्यक्ष तथा नेपाली टिम व्यवस्थापक निरोजा मास्केले बताइन् । प्रशिक्षणका लागि यसअघि एनभीएले ३० खेलाडीको नाम सार्वजनिक गरेको थियो । त्यसमध्ये पहिलो दिन २५ खेलाडी प्रशिक्षणमा सहभागी भए ।
पहिलो दिन प्रशिक्षणमा आएका सबै खेलाडीको पीसीआर परीक्षण भएको र सबैको रिपोर्ट नेगेटिभ आएको मास्केले जानकारी दिइन् ।








