गृहपृष्ठ खबर युरोकप २०२० : पोर्चुगललाई हराउन जर्मनीलाई सहज छैन

युरोकप २०२० : पोर्चुगललाई हराउन जर्मनीलाई सहज छैन

युरोपियन फुटबल इतिहासकै सर्वाधिक सफल टोली मानिन्छ जर्मनीलाई । तर, चालू युरोकप २०२० को पहिलो खेलमा भने जर्मनीले हार व्यहोरेको छ । पहिलो हार (विनागोल) का कारण जर्मनी समूह एफमा कठिन मोडमा छ । यसअघि युरोकप तीनपटक जितिसकेको जर्मनीले शनिबार नेपाली समयअनुसार राति ९ः४५ बजे पोर्चुगलको सामना गर्दै छ । घरेलु मैदान अलिन्ज एरिनामा विश्व फुटबलकै यी हेभिवेट टोलीबीच रोमान्चक प्रतिस्पर्धा हुने प्रस्ट छ । दुवै टोली रक्षात्मकभन्दा पनि आक्रामक र काउन्टरमा जितमा विश्वास राख्छन् ।

अघिल्लो खेलमा फ्रान्ससँग १–० ले पराजित भएको जर्मनी सम्भवतः पोर्चुगलभन्दा बढी नै दबाबमा रहनेछ । जर्मन प्रशिक्षक जोचिम लोलाई थाहा छ कि अबको हारले प्रतियोगिताबाट बाहिरिने पक्का छ । नकआउट चरण प्रवेशको बाटो जीवितै राख्न जर्मनीले पोर्चुगललाई हराउनुपर्छ । बराबरी नतिजाले जर्मनी गणितीय आधारमा मात्र रहनेछ ।

जर्मनीलाई पहिलो चरणबाटै बाहिरन सक्ने डर पनि छ । तीन वर्षअघि सन् २०१८ मा रसियामा सम्पन्न विश्वकपमा जर्मनी तत्कालीन विजेताका रूपमा प्रतिस्पर्धा गरेको थियो । तर, एक खेल पनि जित ननिकाली प्रतियोगिताबाटै बाहिरिनुपरेको थियो । यही कारणले जर्मन खेलाडी पोर्चुगलविरुद्ध जितकै लागि दरिलो आत्मविश्वासका साथ मैदानमा प्रवेश गर्नेछन् । योपटक उनीहरू कुनै गल्ती गर्नेछैनन् ।

यता प्रतियोगिताकै साबिक विजेता पोर्चुगलले हंगेरीमाथि ३–० को जित निकाली उत्कृष्ट सुरुवात गरिसकेको छ । युरोकपकै डेथ अफ ग्रुपमा रहेको पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोकै प्रदर्शनमा अहिलेसम्म टिम टिकेको छ । हंगेरीसँगको खेलमा ८५ मिनेटसम्म गोल गर्न नसकेको पोर्चुगलले अन्तिम पाँच मिनेटमा तीन गोल गर्दा रोनाल्डोको नाममा दुई गोल रह्यो ।

पछिल्लो केही वर्षयता पोर्चुगलको जितमा धेरै हदसम्म रोनाल्डोकै प्रदर्शनमा निर्भर छ । पहिलो खेलबाट महŒवपूर्ण तीन अंक बटुलेका पोर्चुगलको मुख्य ध्यान नै लगातार दोस्रो जितसँगै नकआउट चरण पुग्ने हो । पोर्चुगलका फर्नान्डो सान्तोष लगातार दुई युरोकप विजेता प्रशिक्षक बन्ने अभियानमा छन् । घरेलु मैदानमा हजारौँ समर्थकबीच जर्मनीले आफ्नो स्वाभाविक खेल देखाउने पक्षमा छ । प्रशिक्षक लोले फ्रान्सविरुद्धको खेलमा गरेका गल्ती पोर्चुगलसँग नगर्ने जनाइसकेका छन् ।

फ्रान्ससँगको खेलमा बेन्चमा रहेका युवा खेलाडी लिरोय साने तथा टिमो वार्नर पोर्चुगलविरुद्ध पहिलो सेटमै खेलाउने योजनामा छन् प्रशिक्षक लो । जर्मनीका प्रशिक्षक लोले पोर्चुगलका खेलाडी उत्कृष्ट फर्ममा रहेको र उनीहरू डिफेन्स र फिनिसिङमा निकै राम्रो रहेको बताएका छन् । प्रशिक्षक लो भन्छन्, ‘यसपटकको पोर्चुगलको टिममा डिफेन्स लाइन बलियो देखिएको छ, रोनाल्डोसँगै अन्य खेलाडी पनि गोल गर्न क्षमता राख्छन् ।’

पोर्चुगलका प्रशिक्षक सान्तोषले घरेलु मैदानमा जर्मनीविरुद्ध खेल्न कठिन हुने बताए । ‘जर्मनीलाई घरेलु मैदानमा हराउन गाह्रो छ, पछिल्लोपटक एक दुर्भाग्य गोलले मात्र पराजित भएको हो तर फ्रान्सविरुद्धको खेलमा जर्मनी निकै राम्रो थियो,’ सान्तोषले भने, ‘हामी दुवै टोली जितकै लागि खेल्ने प्रयासमा छौँ ।’

सम्बन्धित् समाचार