गृहपृष्ठ खबर कोहलीले धोनीलाई पछि पार्दै बनाए रेकर्ड

कोहलीले धोनीलाई पछि पार्दै बनाए रेकर्ड

प्रकाशित मिति:

काठमाडौं : भारत तथा न्युजिल्यान्डबीच विश्व टेस्ट च्याम्पियनसिपको उपाधिका लागि अहिले इंग्ल्यान्डको साउथह्याम्टनमा खेल जारी छ। दुवै टिमका लागि यो फाइनल खेल ऐतिहासिक छ। गत वर्ष उत्कृष्ट प्रदर्शन गरेपछि दुई टिम फाइनलमा पुगेका थिए।

खेलमा मैदान उत्रिएसँगै भारतका कप्तान विराट कोहलीले रेकर्ड बनाएका छन्। उनले भारतका लागि टेस्ट क्रिकेटमा सबैभन्दा बढी कप्तानी गर्ने रेकर्ड बनाएका हुन्।

कोहलीले अहिलेसम्म ६१ खेलमा कप्तानी गरेका छन्। यसअघि उनले ६० खेलमा कप्तानी गर्दै महेन्द्रसिंह धोनीको रेकर्डसँग बराबरी गरेका थिए।

धोनीले सन् २००८ देखि २०१४ सम्ममा भारतीय टिमको कप्तानी गरेका थिए। धोनीको कप्तानीमा भारतले २७ खेलमा जित हात पारेको थियो। १८ खेलमा भारत पराजित हुँदा १५ खेल बराबरीमा सकिएको थियो।

कोहलीको कप्तानीमा भारतले अहिलेसम्म ३६ खेलमा जित हात पारेको छ। १४ खेलमा भारत पराजित हुँदा १० खेल बराबरीमा सकिएका छन्।

कोहली सन् २०१४ मा भारतको टेस्ट टिमको कप्तान बनेका थिए। कोहलीको नाममा घरेलु मैदानमा लगातार १० टेस्ट सिरिजमा खेल जित्ने कीर्तिमान छ। यो रेकर्ड अस्ट्रेलियाका रिकी पोन्टिङसँगको बराबर हो।

टेस्टमा सर्वाधिक जित निकाल्ने कप्तान दक्षिण अफ्रिकाका ग्राहम स्मिथ हुन्। उनले दक्षिण अफ्रिकाका लागि १०९ खेलमा कप्तानी गर्दा ५३ खेलमा जित निकालेका थिए।

अस्ट्रेलियाले पोन्टिङको कप्तानीमा ४८ जित निकाल्दा स्टिभ वाको कप्तानीमा ४१ जित निकालेको थियो। चौथो स्थानमा ३६ जित निकालेका भारतका कप्तान कोहली र वेस्ट इन्डिजका क्लाइव लोयड छन्।

सम्बन्धित् समाचार