गृहपृष्ठ खबर आज मध्यरातमा रोनाल्डो भर्सेस लुकाकु !

आज मध्यरातमा रोनाल्डो भर्सेस लुकाकु !

एजेन्सी : युरो कपमा नकआउट चरणको दोस्रो दिन आइतवार मध्यरातमा गएको वर्षको च्याम्पियन पोर्चुगल र विश्वको नम्बर एक टिम बेल्जियमबीच खेल हुँदैछ । सेभियामा हुने खेलमा पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो उपाधि बचाइराख्न मैदानमा उत्रिने छन् । उता रोमेलु लुकाकुको टिम बेल्जियम पनि सन् १९८९ पछि पहिलो पटक पोर्चुगललाई हराउने लक्ष्यका साथ मैदानमा उत्रिनेछ ।

बेल्जियमको कुरा गर्दा उसले लिग चरणको ग्रुप ‘बी’ मा शीर्ष टिम बन्दै नकआउट चरणमा प्रवेश गरेको हो । उसले पछिल्लो तीन खेलमा रुसलाई तीन–शून्य, डेनमार्कलाई दुई–एक र फिनल्यान्डलाई दुई–शून्यले हराएको छ । यो टिममा स्टार खेलाडीको कमी छैन । जसमा केभिन डी ब्रयुन, युरी टायलेमेन्स, कप्तान एडन हेजार्ड र रोमेलु लुकाकु जस्ता खेलाडी छन् । यो टिम रोनाल्डोको पोर्चुगललाई टक्कर दिन पूरा कोसिस गर्नेछ । बेल्जियमले यसअघि विश्व कप २०१८ जस्तो ठूलो प्रतियोगितामा ब्राजिललाई हराएको छ । यसरी हेर्दा बेल्जियम बलियो देखिन्छ ।

यता पोर्चुगलको कुरा गर्दा उसले ‘ग्रुप अफ डेथ’ भनिने ग्रुप ‘एफ’ मा तेस्रो स्थानमा रहँदै नकआउटमा स्थान बनाएको हो । पोर्चुगलले पछिल्लो तीन खेलमा हङ्गेरीलाई तीन–शून्यले हरायो भने जर्मनीविरुद्ध आत्मघाती गोल गर्दा उसँग दुई–चारले हार बेहोरेको थियो । अन्तिम खेलमा कप्तान रोनाल्डोको दुई गोलमा पोर्चुगलले फ्रान्ससँग दुई–दुईको बराबरी खेलेको थियो । यस्तो अवस्थामा कप्तान रोनाल्डोमाथि युरो कपको उपाधि जिताउने जिम्मेवारी हुनेछ ।

रोनाल्डो भर्सेस लुकाकु

पोर्चुगलको तर्फबाट उसका कप्तान क्रिस्टियानो रोनाल्डोले धेरै गोल गरेका छन् । रोनाल्डोले लिग चरणको तीन खेलमा पाँच गोल गरेका छन् । यता बेल्जियमको तर्फबाट लुकाकुले तीन गोल गरेका छन् । यस्तोमा पोर्चुगल र बेल्जियमबीचको खेलमा यी दुई स्ट्राइकरमाथि सबैको आँखा पर्नेछ ।

सम्बन्धित् समाचार