गृहपृष्ठ खबर सरकारका ऐतिहासिक कामका कारण एमाले झन् लोकप्रिय बनेको ओलीको दाबी

सरकारका ऐतिहासिक कामका कारण एमाले झन् लोकप्रिय बनेको ओलीको दाबी

प्रकाशित मिति:

काठमाडौं : प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीले सरकारका ऐतिहासिक कामका कारण एमाले जनतामाझ झन् लोकप्रिय हुँदै गएको दाबी गरेका छन् । बुधबार प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा दशौँ महाधिवेशन आयोजक कमिटीको बैठकलाई सम्बोधन गर्दै ओलीले वर्तमान सरकारले ऐतिहासिक रूपमा अभूतपूर्वक ढंगले विकास निर्माणको गतिलाई अघि बढाएका कारण जनतामा लोकप्रिय हुँदै गएको दाबी गरेका हुन् ।

उनले भने, ‘योजनाबद्ध दृष्टिकोणसहितको विकासको तीव्र आकांक्षा र त्यस आकांक्षालाई व्यवहारमा परिणत गर्ने हाम्रो प्रतिबद्धता र तदनुसारको क्रियाकलापहरूले हाम्रो पार्टी झन् बढी लोकप्रिय हुँदै अगाडि बढिरहेको छ ।’

बिमस्टेक, लगानी सम्मेलनलगायत अन्तर्राष्ट्रिय स्तरका विभिन्न सम्मेलन गरेर सही धारणा र विचार अघि सारेका कारण नेपालप्रति विश्वको ध्यानाकर्षण भएको दाबी पनि उनले गरे । उनले भने, ‘राष्ट्रिय हित, सार्वभौमसत्तालाई संवद्र्धन गरिरहेको र हाम्रा छिमेकी मित्रराष्ट्रहरूको सम्बन्धमा कतै असमझदारी पैदा भइहाल्यो भने त्यसलाई राष्ट्रिय हित, न्याय र अन्तर्राष्ट्रिय उत्तरदायित्वका आधारमा पारस्परिक लाभ र पारस्परिक सम्मानका आधारमा, सार्वभौम समानताका आधारमा मतभेद हटाउँदै लगेका थियौँ । विकास गर्दै लगेका थियौँ । इतिहासमा पहिले कहिल्यै नभएका ठूला–ठूला सकारात्मक लक्ष्यहरू प्रकट भएका थिए ।’

सम्बन्धित् समाचार