गृहपृष्ठ अर्थ/वाणिज्य ११ वस्तुमा नेपालको अन्तर्राष्ट्रिय व्यापार : ३९ अर्बको निर्यात गर्दा २२ अर्बको मात्रै आयात

११ वस्तुमा नेपालको अन्तर्राष्ट्रिय व्यापार : ३९ अर्बको निर्यात गर्दा २२ अर्बको मात्रै आयात

प्रकाशित मिति:

नेपालले अन्तर्राष्ट्रिय व्यापारका लागि ९७ शीर्षक र ५ हजार ६ सय ८ उपशीर्षक निर्धारण गरेको छ । अधिकांश शीर्षकमा नेपालले व्यापार घाटा बेहोर्ने गरेको छ । गत वर्ष १५ खर्ब ३९ अर्ब रुपैयाँको व्यापार हुँदा नेपालले १ खर्ब ४१ अर्ब रुपैयाँबराबरको सामान मात्रै निर्यात गर्न सक्यो, जसले नेपाललाई अहिलेसम्मकै धेरै करिब १४ खर्ब रुपैयाँबराबरको व्यापार घाटा भएको छ ।

नेपालले ९७ शीर्षकबाट आयात-निर्यात व्यापार गर्दा ८६ शीर्षकमा व्यापार घाटा बेहोरेको छ भने ११ शीर्षकमा व्यापार नाफा गरेको छ । व्यापार लाभमा देखिएका ११ वटा शीर्षकमा ६१ अर्ब ६६ करोड रुपैयाँको सामान आयात-निर्यात भएको छ । नेपालले यो शीर्षकमा २२ अर्ब ११ करोड रुपैयाँको आयात र ३९ अर्ब ५४ करोड रुपैयाँको वस्तु निर्यात गरेको छ ।

नेपालको व्यापार नाफामा देखिएका शीर्षकहरूमा नेपालले तुलनात्मक लाभको रूपमा राखेका वस्तुहरूको उपस्थिति बलियो रहेको छ भने सिसाका सामान तथा वाद्यवादनका पार्टपुर्जाको निर्यातमा पनि नेपाल अगाडि देखिएको छ ।

कुन-कुन वस्तुमा लाभ

नेपालको व्यापार नाफामा देखिएका ११ शीर्षकमध्ये सबैभन्दा बढी व्यापार नाफा  गलैँचा, कार्पेट र भुइँ ढाक्ने कपडामा देखिएको छ । सरकारले गलैँचा र कार्पेटलाई तुलनात्मक रूपमा लाभको सूचीमा राखेको छ ।

आर्थिक वर्ष २०७७/७८ मा ८ अर्ब २२ करोड ७९ लाख रुपैयाँको व्यापार भएकोमा ७ अर्ब ६३ करोड रुपैयाँको निर्यात र ५९ करोड रुपैयाँको आयात भएको छ । जसअनुसार करिब ७ अर्ब ४ करोड रुपैयाँ व्यापार नाफामा भएको छ । यस्तो वस्तु नेपालले विश्वका ३९ वटा देशमा ३० लाख ४३ हजार स्क्यार मिटरभन्दा बढी निर्यात भएको छ ।

व्यापार नाफा गर्ने अर्को वस्तु चिया-कफी रहेको छ । यी वस्तुलाई पनि नेपालले तुलनात्मक रूपमा लाभको सूचीमा राखेको छ । गत आर्थिक वर्षमा नेपालले यस्तो सामानबाट २ अर्ब २ करोड व्यापार नाफा गरेको छ । यी वस्तो सो अवधिमा ९ अर्ब ४९ करोडको आयात र ११ अर्ब ७६ करोडको निर्यात भएको छ ।

नेपालले तुलनात्मक लाभको सूचीमा राख्दा पनि ९ अर्बमाथिको चिया-कफी भने आयात भएको भन्सार विभागको तथ्यांकले देखाएको छ ।

वनस्पतिबाट बन्ने वस्तु (चोया, पोया)बाट नेपालले अन्तरार्ष्ट्रिय व्यापारमा १ अर्ब ४९ करोड रुपैयाँ नाफा गरेको छ । यस्ता वस्तुको निर्यात १ अर्ब ८६ करोड र आयात ३६ करोड रुपैयाँको भएको छ ।

चाउचाउ, दाल तथा पिठोको व्यापारमा पनि २ अर्ब ५३ करोड रुपैयाँ नापा भएको छ । यस्तो वस्तुको निर्यात ४ अर्ब २४ करोडको हुँदा आयात १ अर्ब ७१ करोडको भएको छ ।

अखाद्य छालाको व्यापारमा ९ करोड ८६ लाख मात्रै नाफा देखिएको छ । यस्तो वस्तुको आयात ५ करोड ८० लाख र निर्यात १५ करोड ६६ को भएको छ ।

धागो तथा टेक्सटाइलको आयात ४ अर्ब ३८ करोडको हुँदा निर्यात ४ अर्ब ७७ करोडको भएको छ भने व्यापार नाफा ४० करोड देखिएको छ ।

राडीपाखीका सामानमा पनि व्यापार नाफामा देखिएको छ । यस्तो सामान ३ अर्ब ७ करोडको आयात र ३ अर्ब २९ करोडको निर्यात भएको छ । धागो तथा डोरीको व्यापारमा २ अर्ब १२ करोड नाफा भएको छ । यस्तो सामानको निर्यात ४ अर्ब ४५ करोड र आयात १ अर्ब ९२ करोडको भएको छ ।

सिसाको लिड तथा त्यसका वस्तुको अन्तर्राष्ट्रिय व्यापारमा पनि नेपाल नाफामा रहेको छ । यस्तो वस्तु २८ करोडको आयात हुँदा ४० करोडको निर्यात भएको छ ।

संगीत तथा वाद्यवादका पाटपुर्जाको आयात २० करोड रुपैयाँको हुँदा निर्यात ८० करोडको भएको छ, ६० करोड व्यापार नाफामा छ । त्यस्तै पुरातात्विक वस्तुहरू ५५ करोडको निर्यात हुँदा १ करोड ८८ लाखको मात्रै आयात भएको छ ।

सम्बन्धित् समाचार