गृहपृष्ठ खबर कांग्रेस महाधिवेशन मंसिरमा सार्ने देउवाको तयारी, केन्द्रीय समितिमा प्रस्ताव लैजाँदै

कांग्रेस महाधिवेशन मंसिरमा सार्ने देउवाको तयारी, केन्द्रीय समितिमा प्रस्ताव लैजाँदै

प्रकाशित मिति:

नेपाली कांग्रेसले भदौमा गर्ने भनेको १४औँ  महाधिवेशन मंसिरमा धकेल्ने तयारी थालेको छ । पार्टीको वैधानिकतामा असर नपर्ने आधारसहित मंसिरमा महाधिवेशन गर्ने प्रस्ताव केन्द्रीय समितिमा पेस गर्ने तयारी सभापति शेरबहादुर देउवाको छ ।

क्रियाशील सदस्यताको विवाद, कोरोना महामारीका कारण भदौमा महाधिवेशन गर्ने कार्यतालिका प्रभावित भएको छ । पार्टीको वैधानिकता जोगाउने किसिमले नयाँ कार्यतालिका केन्द्रीय समिति बैठकमा पेस हुन्छ,’ प्रवक्ता विश्वप्रकाश शर्माले भने ।

कांग्रेसले २८ साउनमा केन्द्रीय समितिको बैठक बोलाएको छ । भदौमा तय गरिएको महाधिवेशन मंसिरमा मात्रै सम्भव हुने कुरा महामन्त्री डा. शशांक कोइरालाले खुलाएका थिए । शुक्रबार चितवन पुगेका कोइरालाले आन्तरिक समस्या समाधान गर्न बाँकी रहेकाले मंसिरमा मात्रै महाधिवेशन हुने बताएका थिए ।

‘क्रियाशील सदस्यता विवाद, पार्टी समायोजनलगायतका विषय महाधिवेशन हुनुभन्दा एक वर्षअघि नै टुंगो लगाउनुपर्ने पाठ हामीले सिकेका छौँ । यस्ता आन्तरिक समस्या समाधान गर्न बाँकी रहेकाले भदौको महाधिवेशन प्रभावित हुने भयो । अब सबै समस्या समाधान गरेर मंसिरमा महाधिवेशन हुन्छ,’ उनले भनेका थिए ।

प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति देउवाले पनि पार्टीको वैधानिकता जोगाउने गरी मंसिरमा महाधिवेशन गर्ने प्रस्ताव कांग्रेसका युवा नेताहरूसँग राखेका थिए । शुक्रबारको छलफलमा उनले भनेका थिए, ‘म वैधानिकता जोगाउने विषयमा निर्वाचन आयोगमा कुरा गर्छु । भदौमा महाधिवेशन गर्न सम्भव भएन । यो क्रियाशील सदस्यता अपूर्ण भयो । सबै विवाद समाधान गरेर मंसिरमा महाधिवेशन गरौँ,’ देउवाको प्रस्ताव थियो ।

देउवा २०७२ फागुनमा भएको महाधिवेशनबाट सभापतिमा निर्वाचित भएका थिए । विधान अनुसार २०७६ फागुनमा महाधिवेशन हुनुपर्ने थियो । कांग्रेस विधानमा एक वर्ष कार्यकाल थप्न मिल्ने व्यवस्था छ । त्यसको प्रयोग गर्दै देउवाले आफ्नो कार्यकाल २०७७ फागनुसम्म लम्ब्याए । त्यसपछि कुनै कारणले महाधिवेशन हुन नसके दलहरूलाई  ६ महिना अवधि थप्न गर्न सक्ने सुविधा संवैधानिक प्रावधानको लाभ पनि कांग्रेसले प्रयोग गर्‍यो ।

संवैधानिक प्रावधानको प्रयोग गरिसकेको कांग्रेसले भदौभित्र महाधिवेशन गरिसक्नुपर्ने हुन्छ । तर, गत वर्षको लकडाउनको अवधिलाई शून्य समयको अवधि मानेर मंसिरभित्र महाधिवशेन गर्ने तयारी गरेको हो । त्यसका लागि निर्वाचन आयोगमा अनौपचारिक रूपमा प्रस्ताव पुगेको छ ।

‘अनौपचारिक रूपमा कुराकानी भए पनि आयोगमा औपचारिक निवेदन प्राप्त भएको छैन । कांग्रेसका तर्फबाट निवेदन प्राप्त भएपछि आयोगले सुनुवाइ गर्छ,’ प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले भने ।

संस्थापन पक्षले मंसिरमा महाधिवेशनको तयारी गरिरहे पनि वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले भने महाधिवेशन सार्ने चालबाजी मान्य नहुने निर्णय गरेको थियो । महाधिवेशन समयमा गर्न नसके विशेष महाधिवेशन गर्नुपर्ने माग पौडेल समूहको छ । ‘निर्धारित कार्यतालिकामा अब कांग्रेसको महाधिवेशन सम्भव छैन भन्ने कुरा प्रस्टै भइसक्यो । पार्टीको वैधानिकता जोगाउन विशेष महाधिवेशन गर्नुपर्‍यो कि कानुनी उपाय खोज्नुपर्‍यो । मुख्य कुरा वैधानिकता जोगाउनु हो, यसका लागि हामीले विशेष महाधिवेशन भनिरहेका छौँ,’ कांग्रेस नेता अर्जुननरसिंह केसीले भने ।

यता संस्थापन पक्ष भने विशेष महाधिवेशनको विपक्षमा छ । ‘सके समयमै महाधिवेशन हुँदा राम्रो हो । केही विवादबाहेक क्रियाशील सदस्यता लगभग टुंगिएको अवस्थामा पुरानै प्रतिनिधिबाट महाधिवेशन गर्नु हुँदैन पार्टीको वैधानिकतालाई ध्यान दिँदै महाधिवेशन धेरैपर धकेल्नु पनि हुँदैन,’ देउवानिकट नेता रमेश लेखकले भने ।

सम्बन्धित् समाचार