गृहपृष्ठ खबर ओली र नेपाल एकै पार्टीमा रहने सम्भावना लगभग समाप्त !

ओली र नेपाल एकै पार्टीमा रहने सम्भावना लगभग समाप्त !

प्रकाशित मिति:

काठमाडौं : वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको सहमति र सहभागिता बेगर अध्यक्षलाई शक्तिशाली बनाउने गरी विधान संशोधन प्रस्ताव पारित भएसँगै नेकपा एमालेमा वारपारको अवस्था नजिकिएको छ ।

संस्थापन पक्षलाई चुनौती दिँदै नेपाल पक्षले देशैभरी समानान्तर गतिविधि सञ्चालनको अभियानमा थाल्ने बताएसँगै कुनै चमत्कारविना अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता नेपाल एकै पार्टीमा रहने सम्भावना लगभग समाप्त भएको देखिँदैछ ।

ओली र नेपाल पक्षबीच वार की पारको लडाइँले विश्राम लिने कुनै आश्रयस्थल भेट्टाउन मुस्किल भएसँगै पार्टी विभाजन नजिक पुगेको हो की भन्ने अड्कलबाजी गर्न थालिएको छ ।

एकतर्फी रूपमा विधान महाधिवेशन गर्न तम्सिएको ओली पक्षलाई कडा टक्कर दिँदै नेपाल पक्ष वडा तहदेखि केन्द्रसम्म पार्टीगत गतिविधिलाई समानान्तर रुपमा अगाडि बढाउने अठोटमा पुगेको छ । अब ओली र नेपाल पक्ष एकले अर्कोलाई सुन्ने अवस्थाबाट टाढा बनिसकेका छन् ।

करिव दुई तिहाईको बहुमतको सरकारबाट बाहिरिएर किचलोपूर्ण प्रतिपक्षी भूमिकामा एमाले पुगेको छ । यो दल घरझगडा शान्त पार्न असफल बनेको छ । यो स्थिति आउनुको जस अपजस कस्ले लिने भन्नेमा दुवै पक्ष चोर औला ठड्याउनमै व्यस्त देखिन्छन् ।

प्रधानमन्त्री हुँदा असंवैधानिक कदम चालेको भनेर आलोचित ओली त एकातिर हुनुहुन्छ नै, नेता नेपाललाई पनि एमाले सरकार गिराउन मतियार बनेको धब्बा लागेको छ । एकले अर्कोलाई आरोपको चाङ लगाइरहँदा एकले अर्कोलाई नसुन्ने र आ–आफ्नो सुरतालमा हिड्ने परिस्थिति बन्दै गएकाले नाटकीय परिवर्तन आएविना एमाले जुट्ने सम्भावना निकै टाढिएको छ ।

जुटे पनि फुटे पनि यो दल पुरानो एमालेका रुपमा उदाउने सम्भावनासमेत समाप्त भएको टिप्पणी हुन थालेका छन् । वृद्धअवस्थामा पुगेका दुई नेताको कुण्ठा र जिद्दीपनको सिकार एमाले बन्ने अवस्था आएको छ ।

सम्बन्धित् समाचार