गृहपृष्ठ खबर फिफा वरीयतामा नेपालको तीन स्थान सुधार

फिफा वरीयतामा नेपालको तीन स्थान सुधार

प्रकाशित मिति:

काठमाडौँ : फिफा वरीयतामा नेपालले तीन स्थान सुधार गरेको छ । विश्व फुटबलको सर्वोच्च निकाय विश्व फुटबल महासंघ (फिफा)ले बिहीबार सार्वजनिक गरेको पुरुष फुटबलको नयाँ वरीयतामा नेपालले तीन स्थान सुधार गर्दै १६८औं स्थानमा उक्लिएको हो । यसअघि नेपाल १७१औं स्थानमा रहेको थियो ।

नेपाल दक्षिण एशियाली राष्ट्रको वरीयतामा तेस्रो स्थानमा छ । गत मे महिनाको अन्तिममा पछिल्लो पटक फिफाको वरीयता सार्वजनिक हुँदा नेपालको अंक ९६८ रहेको थियो । अहिलेको नयाँ वरीयतामा नेपालले चार अंक बटुल्दै ९७२ बनाएको छ । नेपालभन्दा अगाडि भारत र माल्दिभ्स रहेको छ । भारत १०५औं स्थानमा छ भने माल्दिभ्स १५८औं स्थानमा रहेको छ । नेपालभन्दा तल भुटान, बंगलादेश, श्रीलंका र पाकिस्तान रहेको छ । बंगलादेश १८८औं स्थानमा छ भने भुटान १८७औं स्थानमा छ । त्यस्तै पाकिस्तान १९८औं स्थानमा रहँदा श्रीलंका २०५औं स्थानमा छ ।

बेल्जियम फिफा वरीयताको शीर्ष स्थानमा छ भने ब्राजिल दोस्रो स्थानमा छ । त्यसैगरी फ्रान्स तेस्रो स्थानमा रहँदा इंग्ल्यान्ड चौथो तथा इटाली पाँचौं स्थानमा छ । अर्जेन्टिना छैटौं, स्पेन सातौं, पोर्चुगल आठौं, मेक्सिको नवौं र अमेरिका दसौं स्थानमा छ ।

सम्बन्धित् समाचार