राष्ट्र बैंकले सम्भाव्यता अध्ययन गर्ने भनेको सेन्ट्रल बैंक डिजिटल करेन्सी के हो, जसबारे विश्वका ८३ मुलुकले काम गरिरहेका छन्
विश्वका अन्य धेरै केन्द्रीय बैंकजस्तै नेपाल राष्ट्र बैंक पनि विद्युतीय मुद्रा (डिजिटल करेन्सी) ल्याउने दिशामा एक कदम अघि बढेको छ । नेपालमा समेत केन्द्रीय बैंक विद्युतीय मुद्रा (सेन्ट्रल बैंक डिजिटल करेन्सी– सिबिडिसी) को सम्भाव्यता अध्ययन गरिने शुक्रबार सार्वजनिक मौद्रिक नीतिमा उल्लेख छ । विश्वमा क्रिप्टोकरेन्सीको विस्तार तीव्र भइरहेको सन्दर्भमा त्यसबाट हुने जोखिमबाट अर्थतन्त्र जोगाउन धेरै केन्द्रीय बैंक आफैँ डिजिटल करेन्सी जारी गर्ने तयारीमा छन् । नेपालमा केन्द्रीय बैंक आफैँले डिजिटल करेन्सीको सम्भाव्यता अध्ययन थाल्नु आफैँमा महत्वपूर्ण भएको पूर्वअर्थसचिव रामेश्वर खनाल बताउँछन् ।
पछिल्लो समय बिटक्वाइन, इथेरियमजस्ता क्रिप्टोकरेन्सीको विश्वव्यापी चर्चा छ । तर, केन्द्रीय बैंक विद्युतीय मुद्रा ९सिबिडिसी०हरूको चर्चा कम छ । ‘तर, केन्द्रीय बैंकहरूले भौतिक मुद्राको विकल्पमा जारी गर्ने डिजिटल मुद्राहरू तपाईं–हामीले सोचेभन्दा निकै छिटो बजारमा आउनेवाला छन्,’ क्रिप्टोकरेन्सीसम्बन्धी पोर्टल क्वाइन डेस्ककी प्रबन्ध निर्देशक इमिली पार्कर भन्छिन् ।
कतिपयलाई क्रिप्टोकरेन्सी र केन्द्रीय बैंकले जारी गर्ने डिजिटल करेन्सी एउटै हुन् भन्ने लाग्न सक्छ, तर ती फरक हुन् । सिबिडिसीहरू केन्द्रीय बैंकको नियमनमा उसैले जारी गर्ने अभौतिक मुद्राहरू हुन् । यस्ता मुद्राहरू वास्तवमा केन्द्रीय बैंकले हाल जारी गरिरहेका भौतिक मुद्राकै अभौतिक रूप हुन्, जसको स्टोर तथा कारोबार डिजिटल कोकनका माध्यमबाट हुन्छ । क्रिप्टोकरेन्सीहरू डिजिटल वालेटमा स्टोर गरिन्छन्, सरकारले जारी गर्ने डिजिटल करेन्सीचाहिँ फोनमा स्टोर हुनेछन् ।
क्रिप्टोकरेन्सी विकेन्द्रित लेजर, जसलाई ब्लकचेन भनिन्छ, त्यसका माध्यमबाट जोसुकै व्यक्तिले माइन गर्न सक्छ भने सिबिडिसीहरू केन्द्रीकृत रूपमा राज्यले मात्रै जारी गर्छ । खासगरी क्रिप्टोकरेन्सीको बढ्दो लोकप्रियताका कारण मौद्रिक प्रणाली नै राज्यको नियन्त्रणबाहिर जान सक्ने चुनौती देखिएपछि संसारभरिका केन्द्रीय बैंकहरू डिजिटल मुद्राको अध्ययन र प्रयोगमा जुटेका हुन् ।