हाइटीको पश्चिमी क्षेत्रमा शनिवार ठूलो भूकम्प गएको छ। सो भूकम्पको झट्का पूरै क्यारेबियन क्षेत्रमा महसुस गरिएको रोयटर्सले उल्लेख गरेको छ। सो क्षेत्रका मानिसहरु ज्यान जोगाउन घर छोडेर सुरक्षित स्थानमा गएका छन्। भूकम्प गएसँगै सुनामीको पनि चेतावनी दिइएको छ।
यूएस जियोलोजिकल सर्भेका अनुसार ७ दशमलव २ म्याग्निच्युड मापन गरिएको सो भूकम्पको गहिराई १० किलोमिटर रहेको छ। सो भूकम्प राजधानीबाट करिब १५० किलोमिटर पश्चिममा गएको हो।
यसअघि हाइटीमा ११ वर्षअघि ७ म्याग्निच्युडको भूकम्प गएको थियो, जसका कारण हजारौँ मानिसहरुको मृत्यु भएको थियो भने कयौँ घरबारविहीन बनेका थिए।
हालको भूकम्पबाट कति धनजनको क्षति भयो भन्नेबारे हाइटीको आधिकारिक निकायबाट रिपोर्ट आइसकेको छैन। यद्यपि, सामाजिक सञ्जालमा पोस्ट भएका फोटोहरुमा जेरेमी शहर नजिकका केही घरहरु तथा एउटा चर्चको केही भाग भत्किएको देखिएको छ।
भूकम्पको भौतिक तथा मानविय क्षति तथा घाइतेहरु बारे कुनै रिपोर्ट नआइसकेको क्युवाका अधिकारीहरुले बताएका छन्।
जमैकामा पनि सो भूकम्पको झट्का महसुस गरिएको छ। यता युरोपियन मेडिटेरानियन सिस्मोलोजिकल सेन्टर (ईएमएससी)ले पनि सो क्षेत्रको भूकम्प रेकर्ड गरेको छ। उसले ७ दशमलव ६ म्याग्निच्युडको भूकम्प भनिरहँदा क्युवाको सिस्मोलोजिकल सेन्टरले ७ दशमलव ४ म्याग्निच्युड मापन गरेको बताएको छ।
भूकम्प गएपछि ‘अमेरिकी सुनामी चेतावनी प्रणाली’ले सुनामी जान सक्ने चेतावनी दिएको छ।










