काठमाडौं : वाग्मती प्रदेशकी मुख्यमन्त्री एवम् नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले आफू पार्टी एकताको पक्षमा रहेको बताएकी छिन् । शाक्यले पार्टी एकता कार्यदलले तयार पारेको १० बुँदे सहमतिलाई कार्यान्वयनमा ल्याउने प्रतिवद्धता अध्यक्ष केपी शर्मा ओलीले गर्ने बित्तिकै नेकपा एमाले एकजुट भएर अघि बढने समेत बताइन्।
नेकपा एमाले रामेछाप–काठमाडौं सम्पर्क मञ्चले शनिवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा उनले पार्टी एकतालाई कमजोर बनाउने काम कसैले पनि गर्न नहुने भन्दै सिंगो पार्टीले एकतामा ध्यान दिनुपर्ने बताइन्।
शाक्यले आफू अध्यक्ष ओली र वरिष्ठ नेता माधवकुमार नेपाल दुवैको साथ पाएर मुख्यमन्त्री भएको उल्लेख गर्दै बाहिरबाहिर नेता नेपाललाई धोका दिएको भन्ने खालको गलत सन्देश दिएर पार्टीको एकतालाई कमजोर बनाउने काम नगर्न पनि आग्रह गरिन्।
शाक्यले केही समयपछि नेकपा एमाले एकजुट भएर अघि बढने विश्वास समेत व्यक्त गरिन्।








