गृहपृष्ठ कला/साहित्य कपिलवस्तुमा पनि मनाईयो गाईजात्रा

कपिलवस्तुमा पनि मनाईयो गाईजात्रा

प्रकाशित मिति:

सागर वि.क.(वैखरी अनलाईन) : कपिलवस्तुमा पनि गाईजात्रा मनाईएको छ । कोरोना संक्रमणको जोखिमलाई ख्याल गर्दै नेवार समुदायले परम्परागत रूपमा मनाउँदै आएको गाईजात्रा यसपालि स्वास्थ्य सुरक्षाकाबीच मनाईएको हो ।  कपिलवस्तुको बाणगंगा नगरपालिका चार नम्बर जीतपुर चोकसहित तौलिहवामा नाचगान गरेर गाईजात्रा मनाइएको छ । वर्षभरि नेवार समुदायमा दिवङ्गत भएकाहरूको घर–घरबाट मृत आत्माको चिर शान्तिको कामना गर्दै सम्झना स्वरूप गाईजात्रा निकाल्ने प्रचलन रहेको गाईजात्रामा सहभागीले बताए ।

त्यस्तै तौलिहवामा विगत १८ वर्ष देखी गाइजात्रा पर्व मनाउदै आएको यौनिक तथा लैगिक अल्पसंख्यक समुदायले यस वर्ष पनि गाईजात्रा पर्व मनाएको छ । राजा प्रताप मल्लले आफ्नो छोराको मृत्युपछि भाव विह्वल भएकि रानीलाई मनाउन यस प्रकारको जात्रा निकाल्ने प्रचलन सुरु गरेको किंवदन्ती छ । त्यस बेलादेखि निरन्तर गाईजात्रा निकाल्ने परम्परा रहेको जात्रामा सहभागिहरुले बताएका थिए । चारनम्बर चोकमा डोको र बाँसबाट मानव आकृति निर्माण गरी मादल, बाँसुरी र मुजुराको तालमा नाच्दै बजार परिक्रमा गरिएको थियो ।

त्यस्तै बाजा र डोके सँगै लठ्ठी ठटाउँदै फेटा, धोती र छड्के लगाएर सिँगारिएका युवाहरू नाचेका थिए । जसलाई नेवार समुदायले यसलाई बैरागी भन्ने गर्छन् । गाईजात्रामा नाचिने यस नाचलाई बैरागी नाच वा डोके नाच पनि भन्ने गरिन्छ । यो पर्व ठाउँअनुसार फरक–फरक ढङ्गले मनाउने गरिएको छ । गाईजात्रा हेर्न चोकमा गाँउ–गाउँबाट मानिसहरु आएका थिए ।

पछिल्लो समय युवा पुस्ता अध्ययन र कामको सिलसिलामा जिल्लाबाहिर जाने भएकाले पनि चासो नदिँदा कतै नेवारी संस्कृति र परम्परा लोप हुने आशङ्का पनि उब्जाएको वृद्धहरू बताउँछन् ।

सम्बन्धित् समाचार