गृहपृष्ठ खबर कांग्रेसको वडा अधिवेशन ४१ जिल्लामा सकियो

कांग्रेसको वडा अधिवेशन ४१ जिल्लामा सकियो

काठमाडौँ : कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत शुक्रबार ४१ जिल्लामा वडा अधिवेशन भएको छ । केन्द्रीय निर्वाचन समितिका सदस्य एगराज पोखरेलले शुक्रबार साँझसम्म ४१ जिल्लाका सबै वडामा वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधि चयन भइसकेको जानकारी दिए ।

ती जिल्लामा निर्वाचन अधिकृतहरु खटिएर मतदान अधिकृतहरुसमेत परिचालन भइसकेका छन् । तर, सम्बन्धित वडामा पुग्न ढिला भएको र अन्य विभिन्न प्राविधिक कारणवश १५ वटा जिल्लामा अधिवेशन भइसकेको छैन,’ पोखरेलले भने । ती जिल्लामध्ये कतिपय जिल्लामा अधिवेशनको प्रक्रिया सुरु भइसकेकाले केही दिनभित्रै अधिवेशन पूरा हुने समितिले जनाएको छ ।

शुक्रबार सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले भक्तपुरको सूर्यविनायक नगरपालिका ५ र मध्यपुरथिमि नगरपालिका ४ मा पुगेर वडा अधिवेशन उद्घाटन गरेका थिए ।

कतिपय जिल्लामा क्रियाशीललगायत सबै तयारी भए पनि वडा अधिवेशनको अर्को मिति तोकिएको छ । तर, केही जिल्लामा भने भौगोलिक विकटता र पूर्वतयारी नपुगेका कारण अर्को दिन अधिवेशन गर्ने तयारी भएको छ ।

समिति सदस्य पोखरेलका अनुसार शुक्रबार ताप्लेजुङ, पाँचथर, इलाम, संखुवासभा, धनकुटा, भोजपुर, खोटाङ, तेह्रथुम, ओखलढुंगा, उदयपुर, दोलखा, सिन्धुली, मकवानपुर, भक्तपुर, गोरखा, लमजुङ, तनहुँ, कास्की, बागलुङ, मनाङ, पर्वत, म्याग्दी, स्याङ्जा, पूर्वी नवलपरासी, पश्चिम नवलपरासी, ललितपुर, रुपन्देही, अर्घाखाँची, गुल्मी, जुम्ला, हुम्ला, जाजरकोट, दैलेख, बझाङ, डोटी, कालिकोट, अछाम, कञ्चनपुर, झापा, पूर्वी रुकुम र पश्चिम रुकुममा वडा अधिवेशन भएको छ ।

सम्बन्धित् समाचार