काठमाडौं : नेपाली कांग्रेसका नेता डा। शेखर कोइरालाले डडेलधुरा कांग्रेसमा भएको भाँडभैलोप्रति आपत्ति जनाउँदै सजकताका लागि सबैलाई आह्वान गर्नुभएको छ ।
कांग्रेसका केन्द्रीय सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेलधुरामा क्रियाशील सदस्यता वितरणमा धाँधली भएको र केन्द्रबाटै नयाँ सदस्य थपिएको भन्दै विवाद बढेको छ ।
जिल्ला कार्यसमितिले सिफारिश नै नगरेका तीन सय जनाभन्दा बढीको नाम केन्द्रबाटै थपेर सदस्य बनाइ त्यसको विवरण जिल्लामा पठाएपछि विवाद बढेको हो । त्यसमा उल्टै जिल्लाबाट पठाइएका करिब पाँच सय जनाको क्रियाशील सदस्यता भने काटिएको आरोप लगाइएको छ ।
यस्तोमा बुधबार बिहान सामाजिक सञ्जाल फेसबुक र ट्वीटरमार्फत् नेता कोइरालाले पार्टी कसरी चलाइँदै छ भन्ने यो एउटा दृष्टान्त हो भन्नुभएको छ । आसन्न १४ औं महाधिवेशनमा केन्द्रीय सभापतिका उम्मेदवारसमेत रहनुभएका कोइरालाले पार्टी सभापतिकै जिल्लामा यस्तो हर्कत देखिएकाले सचेत रहनुपर्ने अवस्था आएको तर्फ ईग्गित गर्नुभएको छ ।








