काठमाडौं : नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले १४ औं महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।
आफूले उम्मेदवारी घोषणा गर्न उपयुक्त समय खोजिरहेको भन्दै उनले आज बीपी कोइरालाको १०८ औं जन्मजयन्तीका अवसरमा सुन्दरीजलमा आयोजित कार्यक्रममा शर्माले उम्मेदवारी घोषणा गरेका हुन्।
१४ औं महाधिवेशनका लागि गगन थापाले यसअघि नै उम्मेदवारी घोषणा गरिसकेका छन्। आगामी मंसिर ९ गतेदेखि कांग्रेसको महाधिवेशन हुँदैछ। महामन्त्रीमै प्रदीप पौडेलले पनि उम्मेदवारी दिने बताउँदै आएका छन्। युवा पुस्ताका तीन लोकप्रिय युवा नेताहरु एउटै पदका उम्मेदवार हुने भएपछि महाधिवेशनमा धेरैको चासो उनीहरुमाथि हुनेछ।
पार्टी प्रवक्ता तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको टिममा रहेर राजनीतिमा सक्रिय रहेकाले शर्मालाई बलियो नेताका रुपमा लिइन्छ।
कांग्रेसमा महामन्त्रीमा जस्तै सभापति पदमा पनि प्रत्यासीहरु धेरै छन्। पार्टी सभापति शेरबहादुर देउवाले पुनस् उम्मेदवारी दिने जनाइसकेका छन्। उनी निकट मानिने उप सभापति विमलेन्द्र निधिले पनि सभापतिको प्रत्यासी हुने निर्णय गरिसकेका छन्। उनले कार्यालय स्थापना गरेर संस्थागत हिसाबले नै अभियान अगाडि बढाएका छन्। यता, शेखर कोइराला, रामचन्द्र पौडेल, शशांक कोइराला र प्रकाशमान सिंहले पनि सभापति पदमा आकांक्षा राखेका छन्। देउवा इतर समूहबाट एकजनामात्र सभापतिको उम्मेदवार बन्न रस्साकस्सी पनि चलिरहेको छ।








