गृहपृष्ठ कृषि यसपालि पनि मलको हाहाकार

यसपालि पनि मलको हाहाकार

प्रकाशित मिति:

काठमाडौँ :  रूपन्देहीको सम्मरीमाईका सन्दीप त्रिपाठी एक सातादेखि मल खोज्न सहकारी धाइरहेका छन् । ८ बिघा खेतका लागि युरिया चाहिएकामा सहकारीले १ बोरा मात्र उपलब्ध गरायो । आफूलाई त्यतिले नपुग्ने भएपछि उनी भारतीय बजार जाने योजनामा छन् । ‘धानले बाला हाल्ने बेला भइसक्यो,’ उनले भने, ‘अहिले मल नपाइए राम्ररी पसाउँदैन ।’

‘१ व्यक्ति १ बोरा मल’ नाराका साथ सहकारीले मल वितरण गरिरहेको छ । तर किसानले पर्याप्त पाउन सकेका छैनन् । कृषि ज्ञान केन्द्र नवलपरासीका प्रमुख देवेशकुमार मिश्रा किसानबाट गुनासो नआएको जिकिर गर्छन् । ‘हिउँद लागेपछि किसानलाई युरिया मल चाहिन्छ,’ उनले भने, ‘एकैपटक माग हुँदा अभाव भइहाल्छ नि ।’ कृषि सामग्री कम्पनी लिमिटेड भैरहवामा भने पोटासबाहेक कुनै पनि मल सञ्चित छैन । सहायक प्रबन्धक एवं सूचना अधिकारी गणेशप्रसाद घिमिरेले असोज अन्तिमतिर मात्रै मल आउन सक्ने बताए । केन्द्रदेखि खरिद नै हुन नसकेकाले मल स्टक नरहेको उनको भनाइ छ ।

कैलाली र कञ्चनपुरका किसानलाई पनि यतिखेर मल चाहिएको छ । तर सहकारी संस्थाहरूलाई मल उपलब्ध गराउने कृषि सामग्री कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीको गोदाम साउनदेखि रित्तो छ । ‘केन्द्रीय गोदाम भैरहवामा पनि मल छैन । कहिले आइपुग्ने हो टुंगो छैन,’ कार्यालय प्रमुख नवसिंह बोगटीले भने ।

सुदूरपश्चिमका लागि डीएपी ६ हजार र युरिया ५ हजार मेट्रिक टन माग रहेको उनको भनाइ छ ।

सम्बन्धित् समाचार