गृहपृष्ठ खबर देउवालाई डडेल्धुरा उपसभापतिको चेतावनी- जबरजस्ती अघि बढे ठुलो दुर्घटना हुने

देउवालाई डडेल्धुरा उपसभापतिको चेतावनी- जबरजस्ती अघि बढे ठुलो दुर्घटना हुने

काठमाडौं : नेपाली कांग्रेस डडेल्धुराको वडा अधिवेशन विवादकाबीच शुक्रवार सम्पन्न भएको छ। एकपक्षीय भन्दै जिल्ला सभापति कर्ण मल्लको समूहले भने अधिवेशन बहिस्कार गर्‍यो।

जिल्लाबाट सिफारिस भएर आएका क्रियाशील सदस्यता काटिएको र केन्द्रले अन्य पार्टीका कार्यकर्ताको नाम थपेर पठाएको आरोप लगाउँदै मल्ल समूहले अधिवेशन बहिस्कार गरेको हो। निर्वाचनका लागि जिल्लामा खटिएका अधिकृत लोकेन्द्रबहादुर बमले एकपक्षीय रुपमा वडाअधिवेशन गरेको मल्लको आरोप छ। यता केन्द्रीय सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा पक्षका नेता भीमबहादुर साउदले भने पटकपटक प्रयास गर्दा पनि सभापति मल्ल पक्ष सहमतिमा नआएको दाबी गरे। हार्ने निश्चित भएपछि मल्ल पक्षले अधिवेशन बहिस्कार गरेको साउदको दाबी छ।

वडा अधिवेशन सकिएपछि मल्ल पक्षका नेता डडेल्धुरा कांग्रेसका उपसभापति करुणाकर भट्टले आन्तरिक समस्या समाधान नगरी जबरजस्ती नबढ्न चेतावनी दिएका छन्। आफू देउवाको व्यक्तित्व देखेरै कांग्रेसमा होमिएको उल्लेख गर्दै केन्द्रीय नेतृत्वले संयमता अपनाउनुपर्ने सुझावसमेत दिएका छन्।

‘डडेल्धुरामा हामीले आन्तरिक समस्या समाधान नगरीकन जबरजस्ती रुपमा अगाडि बढ्न प्रयास गर्‍यौ भने यसले दुर्घटना अवश्य निम्त्याउनेछ,’ उनले शनिवबार बिहानै फेसबुकमार्फत भनेका छन्, ‘त्यसैले तपाईहरु सबैलाई संयमित भएर बस्नका निमित्त अपिल गर्दछु।’

निर्वाचन अधिकृत आफूहरुको सम्पर्कमा नआएको दाबी गर्दै उनले यसरी नै अघि बढेमा जिल्लामा ठुलै राजनीतिक उथलपुथल हुने चेतावनी दिए। २८ वर्षको राजनीतिमा हिजोको दिन निकै कष्टपूर्ण रहेको उनले बताएका छन्।

आफूहरु पार्टीको आन्तरिक समस्या समाधानका लागि पाँच पटक वार्तामा बसेको स्विकार गर्दै २८ गते वडा अधिवेशन गर्ने समय दिएकोमा त्यो पनि देउवा पक्षले अस्विकार गरेको बताए। ७१२ जना मान्छेमाथि अन्याय भएको उल्लेख गर्दै भट्टले तीन दिन अधिवेशन सार्न पनि केन्द्रले नमानेको दाबी गरे।

सम्बन्धित् समाचार