सिन्धुपाल्चोक : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता र शक्तिको दुरुपयोग गरेर पार्टी कब्जा गर्ने दुस्साहस गरिरहेको आरोप लगाउनुभएको छ ।
वरिष्ठ नेता पौडेलले सभापति देउवाले सत्ता र शक्तिको दुरुपयोग गरेर सम्पन्न गरिएका कतिपय वडा अधिवेशन आफूहरूलाई मान्य नहुने चेतावनीसमेत दिनुभयो । नेपाली कांग्रेस जिल्ला कार्य समिति सिन्धुपाल्चोकले सोमवार काठमाण्डौमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले आफू पक्षका नेता, कार्यकर्तालाई पाखा लगाउने काम पार्टी नेतृत्वले गरेको भन्दै आक्रोशसमेत व्यक्त गर्नुभयो ।
नेता पौडेलले पार्टीको आउँदो महाधिवेशनमा नेतृत्व रूपान्तरण गरेर अघि बढ्न पनि पार्टीका नेता, कार्यकर्तालाई आह्वान गर्नुभयो । त्यसो गरेर मात्रै कांग्रेसलाई लोकतान्त्रिक बाटोमा हिँडाउन सकिने उहाँको बुझाइ छ ।








