गृहपृष्ठ खबर अमेरिकामाथि नेपालको ५ विकेटको सानदार जित

अमेरिकामाथि नेपालको ५ विकेटको सानदार जित

काठमाडौँ : कुशल भुर्तेल र रोहित पौडेलले अर्धशतक बनाएपछि नेपालले आईसीसी विश्वकप लिग २ क्रिकेटमा अमेरिकामाथि ५ विकेटको सानदार विजय हात पारेको छ । ओपनिङ ब्याट्सम्यान कुशलले ८४ र रोहितले अविजित ६२ रन बनाएपछि नेपालले २ सय ३१ रनको लक्ष्य ४९ ओभरमा पूरा गर्‍यो ।

अमेरिकामाथि नेपालको लगातार तेस्रो जित हो । लिग २ को पछिल्लो शृंखला २०२० को फेब्रुअरीमा काठमाडौंमा हुँदा नेपालले अमेरिकालाई ३५ रनमै अलआउट गरेको थियो, जुन एकदिवसीय अन्तर्राष्ट्रियकै न्युन स्कोर पनि हो । काठमाडौंमा नेपालले अमेरिकाविरुद्धका दुवै खेल जितेको थियो ।

ओमानमा जारी लिगमा कुशलले आफ्नो पहिलो अर्धशतक बनाउनेक्रममा ९३ बल खेलेर ३ चौका र ३ छक्का प्रहार गरेका थिए । रोहितले ८७ बलको इनिङ्समा २ चौका र ३ छक्का प्रहार गरे । पपुवा न्युगिनीसँगको दुई एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा क्रमशः ४१ र ८६ रनको इनिङ्स खेल्दै रोहित अमेरिकासँगको खेलमा उत्रिएका थिए ।

म्यान अफ द म्याच कुशलले ओपनर आसिफ शेखसँग ६६ रनको साझेदारी गरी नेपाललाई राम्रो सुरुआत दिलाएका थिए । १४ औं ओभरमा आसिफले २३ रन बनाई बाउन्ड्रीलाइनमा क्याच दिन पुगे । आक्रामक खेलेका कप्तान ज्ञानेन्द्र मल्ल १७ रनमा एलबीडब्लू आउट हुन पुगे । कुशल मल्लले १ रनमात्र बनाउन सके । कुशल भुर्तेल र रोहितले तेस्रो विकेटमा ५१ रनको साझेदारी गरेका थिए ।

सम्बन्धित् समाचार