ओमनमा जारी क्रिकेट विश्वकप लिग २ (सीडब्लुसी) अन्तर्गतको नेपाल, ओमन र अमेरिकाबीचको त्रिकोणात्मक सिरिजमा आज सम्पन्न खेलमा नेपाल ओमनसँग पराजित भएको छ। ओमनस्थित अल अमरेत स्टेडियममा सम्पन्न खेलमा नेपाल ५ विकेटले पराजित भएको हो।
टस जितेर ब्याटिङमा उत्रिएको नेपालले ओमनलाई १९७ रनको लक्ष्य प्रस्तुत गरेको थियो। जवाफी ब्याटिङमा उत्रिएको ओमनले ३१.१ ओभरमा ५ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो।
सुरुवाती ब्याटिङमा उत्रिएको नेपालले ४७.४ ओभरमा सबै विकेट गुमाउँदै १९६ रन बनायो।
शुन्य रनमा कुशल भुर्तेल आउट भएपछि सम्हालिएर प्रदर्शन गरेको नेपालका लागि ओपनर आशिफ शेखले अर्धशतकीय पारी खेले। शेखले ११२ बलमा ७ चौका र १ छक्काको सहायतामा सर्वाधिक ९० रन जोडे। त्यसबाहेक कप्तान ज्ञानेन्द्र मल्लले २१ रन बनाउँदा रोहितकुमार पौडेलले २० रन जोडे। त्यसपछि आएका मिडलअर्डर ब्याट्ससम्यानहरुको ब्याटिङ सम्झनलायक रहेन। बिनोद भण्डारी ६ रनमा आउट हुँदा पछिल्ला केही खेलयता रन जोड्न संघर्ष गरिरहेका कुशल मल्लले ४ रन बनाए। त्यस्तै सोमपाल कामी ७ रन बनाएर रनआउट हुँदा विक्रम सोब २ रनमै पभेलियन फर्किए। आक्रामक ब्याटिङ गरेका सन्दीप लामिछानेले भने १० बलमा १ चौका र १ छक्काको सहायतामा १६ रन जोड्दा करण केसीले २१ रन बनाए। त्यस्तै शुसन भारी २ रनमा अभिजित रहे।
ओमनका लागि बिलाल खानले सर्वाधिक ४ विकेट लिँदा नेस्टोर धाम्बाले २ विकेट लिए। त्यस्तै मोहम्मद नदिम र जेसन मक्सुदले समान १र१ विकेट लिए।
जवाफी ब्याटिङमा उत्रिएको ओमनले ३१।१ ओभरमा लक्ष्य पुरा गर्यो।
ओमनका लागि जतिन्दर सिंहले सर्वाधिक १०७ रन बनाउँदा मोहम्मद नदिम ३८ रनमा अभिजित रहे। त्यस्तै सुरज कुमारले २० रन र आयन खानले १८ रन जोडे। नेपालका लागि करण केसी र कुशल मल्लले समान २र२ विकेट लिँदा शुसन भारीले १ विकेट लिए।








