गृहपृष्ठ खबर ललिता निवास प्रकरणमा राजनीतिक प्रतिशोध साध्न ममाथि मुद्दा चलाइयो- गच्छदार

ललिता निवास प्रकरणमा राजनीतिक प्रतिशोध साध्न ममाथि मुद्दा चलाइयो- गच्छदार

प्रकाशित मिति:

नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले ललितानिवास जग्गा प्रकरणमा आफूलाई राजनीतिक प्रतिशोध साध्न मुद्दा चलाइएको बताएका छन्। राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै उनले यस्तो बताएका हुन्। डेढ वर्षपछि सार्वजनिक मञ्चमा प्रस्तुत भएका गच्छदारले मन्त्रिपरिषद् बैठकको सामूहिक निर्णयको विषयमा एक्लैलाई छानीछानी मुद्दा चलाइएको बताएका थिए। उनले आफूले जिम्मेवारी सम्हाल्नुअगाडिबाटै प्रधानमन्त्रीनिवासको बाटो विस्तारको योजना अगाडि बढेको स्पष्ट पारेका छन्।

‘प्रधानमन्त्रीनिवास बाटो विस्तारको योजना म जिम्मेवारीमा आउनुअगाडिबाटै सुरु भएको थियो,’ उनले भने, ‘म जिम्मेवारीमा आएपछि तहतहबाट आएको टिप्पणीलाई मैले मन्त्रिपरिषदमा पेस मात्र गरेको थिएँ। मन्त्रिपरिषद् बैठकको सामूहिक निर्णयमा म एक्लैलाई छानीछानी मुद्दा चलाइयो।’

उनले आफूले तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालको निर्देशनमा मन्त्रिपरिषदमा फाइल प्रस्तुत गरेको पत्रकार सम्मेलनमा जानकारी दिए। उनले मन्त्रिपरिषद् बैठकको सामूहिक निर्णयमा एक्लैलाई मुद्दा चलउनु राजनीतिक चरित्र हत्या गर्ने षड्यन्त्र रहेको स्पष्ट भएको उल्लेख गरे।

उपसभापति गच्छदारले तत्कालीन केपी ओली नेतृत्वको सरकारले प्रतिपक्षमा रहेको नेपाली कांग्रेससहितका दलहरूलाई तर्साउन संवैधानिक आयोगलाई प्रयोग गरेर मुद्दा चलाउनुपर्नेलाई राजनीतिक संरक्षण गरेको र आफूलगायतलाई छानीछानी मुद्दा चलाएको दाबी गरेका थिए।

सम्बन्धित् समाचार