काठमाडौं : नेकपा माओवादी केन्द्रले पार्टीबाट सरकारमा सहभागी हुने मन्त्रीहरुको बारेमा आज छलफल गर्दैछ । मन्त्रीहरुबारे छलफल गर्न आज स्थायी कमिटी बैठक बस्ने तयारी छ ।
तर पार्टी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले बैठक बस्ने कुरा भए पनि समय तय नभएको बताए । ‘काम नसकिएकाले आज बैठक बस्ने कुरा त हो, तर समय तय भइसकेको छैन,’ ढकालले भने । पार्टी अध्यक्ष प्रचण्डसँग सल्लाह गरेर बैठकको समय निश्चित गर्ने उनले बताए ।
शनिबारको स्थायी कमिटी बैठकपछि पत्रकारहरुलाई प्रतिक्रिया दिंदै प्रवक्ता कृष्णबहादुर महराले आइतबारको बैठकमा मन्त्रीहरुबारे छलफल गर्ने बताएका थिए ।
सत्ता गठबन्धनका दलहरुको असोज ६ गते बसेको बैठकमा एक साताभित्र मन्त्रिपरिषदलाई पूर्णता दिने सहमति भएको थियो । तर, मन्त्रालय भागबण्डा नमिल्दा मन्त्रिपरिषदले पूर्णता पाएको छैन ।