गृहपृष्ठ खबर श्रीलंकालाई हराउँदै नेपाल शीर्ष स्थानमा

श्रीलंकालाई हराउँदै नेपाल शीर्ष स्थानमा

काठमाडौं : नेपालले सोमबार चिरपरिचित प्रतिद्वन्द्वी श्रीलंकालाई हराउँदै दक्षिण एसियाली फुटबल ९साफ० च्याम्पियनसिपको शीर्ष स्थानमा उक्लेको छ । माल्दिभ्सको राजधानी मालेमा सञ्चालन भइरहेको साफ च्याम्पियनसिपमा नेपालले आफ्नो दोस्रो खेलमा श्रीलंकामाथि ३–२ को रोमाञ्चक जित दर्ता गरेको हो । जारी साफमा नेपालले लगातार दोस्रो जित दर्ता गरेको हो । उद्घाटन खेलमा नेपालले आयोजक माल्दिभ्समाथि १–० को जित हात पारेको थियो ।

लगातार दोस्रो जितसँगै नेपालले दुई खेलमा ६ अंक बनाएको छ । राउन्ड रोबिन लिगमा बंगलादेश २ खेलमा ४ अंक जोड्दै दोस्रो स्थानमा छ । भारत एक खेलमा एक अंकसहित तेस्रो स्थानमा छ । श्रीलंका र माल्दिभ्स अंकविहीन छन् । नेपाललाई दोस्रो खेलमा जित दिलाउने क्रममा सुमन लामा, अञ्जन विष्ट तथा आयुष घलानले एक–एक गोल गरेका थिए । श्रीलंकाली टोलीबाट ह्यामिल्टन र डिलन डी सिल्भाले एक–एक गोल फर्काएका थिए ।

श्रीलंकाले नेपालमाथि शारीरिक तथा काउन्टर एट्याक्टमा दबाब राखेको थियो । नेपालले भने बिस्तारै बल पोसेसन पकड बनाउने रणनीति अपनाएको थियो । खेलको ३०औँ मिनेटमा नेपालले १–० को अग्रता लियो । नेपाललाई अग्रता गोल सुमन लामाले गरेका थिए । नवयुग श्रेष्ठले श्रीलंकाली डिफेन्डरलाई छक्याउँदै सुमनलाई आकर्षक पास दिएका थिए । त्यसपछि सुमनले डिबक्स भित्रबाटै गोल गर्न सफल भए । दोस्रो हाफमा नेपाल आक्रामक रुपमा प्रस्ततु भएको देखिन्थ्यो ।

खेलको ५२औँ मिनेटमा नेपाल २–० ले अघि रह्यो । यो पटक अन्जनले गोल गरेका हुन । डिबक्स भित्र नवयुग श्रेष्ठले प्रहार गरेको बललाई श्रीलंकाली गोलरक्षक सुजनले ब्लक गरेका थिए । गोलरक्षक सुजनबाट रिबाउन्स भएको बललाई नै अञ्जनले सहजै गोलका रूपमा परिणत गर्दै नेपाललाई दोहोरो अग्रता दिलाउन सफल भए ।

खेलमा दुई गोलले पछि परेको श्रीलंकाली खेलाडी गोल फर्काउन निकै प्रयासरत देखिन्थे । उनीहरूले नेपाली पोस्टमा पटकपटक चार्ज गरिरहे । खेलको ५६औँ मिनेटमा काभिन्दु इसानले नेपालका गोलरक्षक तथा कप्तान किरणकुमार लिम्बू विट भइसकेको अवस्थामा प्रहार गरेको बललाई डिपेन्डर गौतम श्रेष्ठले गोललाइनबाट बल क्लियर गरे ।

त्यसको लगत्तै २५ यार्ड टाढाबाट अनमार्कमा रहेका ह्यामिल्टनले पहिलो बारमा सशक्त प्रहार गर्दै श्रीलंकालाई २–१ को अन्तरमा झारे । उनले प्रहार गरेको बल रोक्न गोलरक्षक लिम्बुसमक्ष अवसर नै बनेन । त्यसलगत्तै नेपालले खेलमा ३–१ को अग्रता लिने निकै सुनौलो अवसर खेर फाल्यो । काउन्टर एट्याक्टमा सन्तोष तामाङले निकै सहज अवस्थामा गोल गर्न अवसर चुकाएका थिए ।

उनले डिबक्सभित्र गोलरक्षक मात्र रहेको अवस्थामा गोल गर्न मिस गरेका हुन् । मध्यान्तरपछि मैदानमा छिरेका आयुषले खेलको ८६औँ मिनेटमा नेपाललाई ३–१ को बलियो स्थितिमा राखे । तेज तामाङको पासमा आयुषले डिबक्सभित्र बल नियन्त्रणमा लिँदै श्रीलंकाली गोलरक्षक सुजनलाई झुक्याउँदै गोल गरेका थिए ।खेलको अन्तिम इन्जुरी समयमा श्रीलंकाली खेलाडी डी सिल्भाले पेनाल्टीमा गोल गर्दै खेल ३–२ को स्थितिमा ल्याएका थिए । खेलमा नेपालका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले श्रीलंकाविरुद्ध सुरुवाती क्रममा दुई खेलाडी परिवर्तन गरेका थिए । उनले सुरुवाती क्रममा सुमन लामा र विशाल राई मैदानभित्र छिराए ।

दोस्रो हाफमा विशालको स्थानमा आयुष छिरेका थिए । यसैगरी सन्तोष तामाङको स्थानमा मनीष मैदानभित्र प्रवेश गरेका थिए । यसअघि आइतबार पहिलो खेलमा दश खेलाडीमा सीमित बंगलादेशले उपाधिको दाबेदार भारतलाई १–१ को बराबरीमा रोकेको थियो । २६औँ मिनेटमा भारतले कप्तान सुनिल क्षेत्रीले १–० को अग्रता दिलाए । खेलको ७४औँ मिनेटमा बंगलादेशले बराबरी गोल फर्कायो । येसिन अराफातले बंगलादेशका लागि हेडिङबाट बराबरी गोल गरेका थिए । पाँच टिमले एकआपसमा खेलेपछि शीर्ष दुई टिमबीच उपाधिका लागि भिडन्त हुनेछ । नेपालले अब २४ असोजमा भारतसँग र २७ असोजमा बंगलादेशसँग खेल्दैछ ।

सम्बन्धित् समाचार