गृहपृष्ठ खबर सुकुम्बासी समस्या दिगो रुपमा समाधान गर्नुपर्छ- पूर्वप्रधानमन्त्री भट्टराई

सुकुम्बासी समस्या दिगो रुपमा समाधान गर्नुपर्छ- पूर्वप्रधानमन्त्री भट्टराई

प्रकाशित मिति:

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद् अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सुकुम्बासी समस्या दिगो रुपमा समाधान गर्नुपर्ने बताएका छन्। सोमबार चितवनमा पत्रकारहरुसँग कुरा गर्दै भट्टराईले वास्तविक सुकुम्बासीहरुको पहिचान गरी उनीहरुको समस्या समाधानका लागि सरकारले काम गर्नुपर्ने प्रतिक्रिया दिएका हुन्।

उनले भने, “सुकुम्बासी समस्या समाधानका लागि सरकारको स्पष्ट नीति नहुँदा समस्या आयो।” आइतबार बुटवलको मोतीपुर औद्योगिक क्षेत्रमा भएको घटना गलत भएको भन्दै उनले सुकुम्बासी समस्या समाधान गर्नतर्फ सरकारले ध्यान केन्द्रित गर्नुपर्ने सुझाव दिए। उनले थपे, “वास्तविक सुकुम्बासी पहिचान गरौं। तितरवितर पार्नु समस्याको समाधान होइन।”

फरक प्रसङ्गमा बोल्दै पूर्वप्रधानमन्त्री भट्टराईले विगतमा एकखाले प्रवृत्तिले व्यवस्था पल्टाउने, संघीय लोकतान्त्रिक गणतन्त्र नै उल्टाउने, संविधान खतरामा पर्ने दिशातर्फ गएको भन्दै अहिलेको सरकारको गतिविधि त्यसभन्दा फरक हुनुपर्ने टिप्पणी गरे। प्रतिगमनविरुद्ध संघर्षबाट बनेको सरकार भएकाले यो सरकार पूर्ण कार्यकाल चल्ने उनको भनाइ थियो। उनले भने, “गठबन्धनको मात्रै होइन लोकतन्त्रमा व्यवस्थापिकाले कार्यकाल पूरा गरेन भने त्यसले राम्रो सन्देश दिँदैन।”

सम्बन्धित् समाचार