कपिलवस्तु : नेपाल वन पैदावार उद्योग व्यवसायी संघ कपिलवस्तुले बाणगंगा ८ चप्पर गाउँकी अनिता विकलाई आर्थिक सहायता प्रदान गरेको छ । वन पैदावार कपिलवस्तुले वि.क.को परिवारलाई थोरै भए पनि उपचार र चाडपर्व मनाउन सहज होस् भन्ने उद्देश्यले रु. १ लाख १ हजार नगद प्रदान गरेको हो । संघका अध्यक्ष पशुपति शर्मा, पुर्व अध्यक्ष तथा पुर्वकेन्द्रिय सदस्य रुक बहादुर भुसाल लगायतको कार्यसमितिको संयुक्त टोलिले अनिताका ससुरालाई आज(मंगलबार) उक्त रकम हस्तान्तरण गरेको छ ।
अध्यक्ष पशुपति शर्मा, पुर्व अध्यक्ष भुसालले सहयोग रकम हस्तान्त्रण गर्दै वनपैदावारले विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको र अनिता र उनको परिवारको दयनीय अवस्था देखेर केहि सहयोग गरेको बताए । अहिले सम्म उनको उपचारमा ३५ लाख खर्च भईसकेको अनिताका ससुरा लोक बहादुर विकले बताए । उनको उपचारका लागि अझै १० लाख खर्च लाग्ने परिवारले जनाएको छ ।
स्वास्थ्यकर्मीका अनुसार कम्तिमा ६ महिना उनलाई डाक्टरको निगरानीमा राख्नुपर्ने र उनी पुर्ववत अवस्थामा फर्कन अझै ३ बर्ष लाग्ने बताईएको छ । उनी डाक्टरको निगरानीमा नर्मल वाडमा उपचाररत छिन् । विभिन्न सञ्चारमाध्यमले समाचार प्रसारण÷प्रकाशन गरेपछि उनको उपचारार्थ विभिन्न सामाजिक संघ संस्था तथा व्यक्तिगत रुपमा आर्थिक सहयोग जुटिरहेको छ ।








