गृहपृष्ठ Featured अफगानिस्तानको राजनीतिक भविष्यको लागि मध्यस्थता गर्न इरानको आग्रह

अफगानिस्तानको राजनीतिक भविष्यको लागि मध्यस्थता गर्न इरानको आग्रह

प्रकाशित मिति:

काठमाडौं : अफगानिस्तानमा मानवीय संकट समाधानका लागि इरानले प्रस्ताव राखेको छ। तेहरानमा आयोजित अफगानिस्तानका छिमेकी देशहरुको दोस्रो विदेश मन्त्रीस्तरीय सम्मेलनमा इरानका विदेशमन्त्री होसेन अमिर अबदोल्लाहिआनले अफगान जनताको समस्या समाधान र अफगानबाट हुने चुनौती समाधानका लागि इरानको प्रस्ताव राखेको समाचार संस्था सिन्ह्वाले जनाएको छ।

उनले अफगानिस्तानका कुनै पनि छिमेकीको चाहना अफगानिस्तान फेरि नयाँ गृहयुद्धमा प्रवेश गरोस् भन्ने नभएको बताए। उनले अफगानिस्तानमा स्थायी विकास आवश्यक रहेको बताउँदै सरकारमा सबै जाति तथा धार्मिक समुदायको प्रभावकारी प्रतिनिधित्व हुनुपर्ने सुझाए। उनले सम्वादको माध्यमबाट विदेशी हस्तक्षेपविना समावेशी सरकार बन्नुपर्ने धारणा राखे।

इरानले त्यसका लागि छिमेकीहरुले तालिवान नेतृत्व तथा अन्य राजनीतिक दलहरुमाथि आफ्नो प्रभावको प्रयोग गर्नुपर्ने बताए।
इरानी विदेशमन्त्रीले सुरक्षाको प्रत्याभूति, आतंकबाद विरुद्ध लड्नु, महिलासहित सबै समूहकोफ अधिकार रक्षा र जनतालाई न्युनतम आधारभूत आवश्यकताको उपलब्धता गराउनु सत्ता हातमा लिएको तालिवानको दायित्व भएको बताए।

उनले तालिवानले सबै छिमेकीसँग मित्रवत व्यवहार राख्नुपर्ने र अफगानी भूमि कुनै पनि छिमेकी विरुद्ध प्रयोग हुन नदिने प्रतिवद्धता जनाउनुपर्ने समेत बताए।

उनले अफगानिस्तानमा समान तथा निष्पक्ष राहत वितरण हुनुपर्ने धारणा राखे। साथै, उनले गुप्तचर सुरक्षा साझेदारी संयन्त्र निर्माण गर्दै अफगानिस्तानमा अपराध र आतंकवाद विरुद्ध लड्नुपर्ने बताए।

इरानी विदेश मन्त्रीले अफगानिस्तानको राजनीतिक भविष्यका लागि राष्ट्रसंघका महासचिवलाई मध्यस्तता गर्न आग्रह समेत गरे।

यसअघि सेप्टेम्बर ८ मा पाकिस्तानका विदेशमन्त्री शाह महमुद कुरेसीले आयोजना गरेको पहिलो बैठकको निरन्तरता स्वरुप इरानी विदेशमन्त्रीले सम्मेलनको आयोजना गरेका हुन्। सम्मेलनमा राष्ट्रसंघका महासचिवले भिडियो सन्देश पठाएका थिए।

सम्बन्धित् समाचार