काठमाडौं : अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच बहुप्रतिक्षित भर्चुअल वार्ता भएको छ। वार्तामा चिनियाँ राष्ट्रपति सीले अमेरिकासँगको सम्बन्ध सकारात्मक दिशामा लैजान चीन तयार रहेको बताएका छन्। सीले एक–अर्को देशको सम्मान र स्थिर दुई पक्षीय सम्बन्धमा जोड दिएका छन्। साथै उनले दुई देशबीचको संवाद बढाउन र चुनौतीको सामना गर्न मिलेर अघि बढ्नुपर्नेमा जोड दिएको बीबीसीले जनाएको छ।
सीले विश्व कोरोना महामारी तथा जलवायु परिवर्तनको असरका कारण संकटमा रहेको बताएका छन्। साथै उनले आफ्ना पुराना मित्र बाइडेनलाई देखेर खुसी लागेकोसमेत बताएका छन्। दुई नेताबीचको यो तेस्रो वार्ता हो। चिनियाँ राष्ट्रपति सी पछिल्ला दुई वर्ष देशबाहिर निस्किनु भएको छैन्। उनले जी–ट्वेन्टी सम्मेलनलाई पनि भर्चुअल रुपमा सम्बोधन गरेका थिए।
वार्तामा अमेरिकी राष्ट्रपति बाइडेनले मानव अधिकार तथा हिन्द–प्रशान्त क्षेत्रको मुद्दा उठाएका थिए। केही महिनायता ताइवान लगायत विभिन्न विषयलाई लिएर चीन र अमेरिकाबीच थप तनाव बढेको थियो।
यसअघि शुक्रबार अमेरिकी राष्ट्रपति कार्यालयले आफ्नो एक विज्ञप्तिमा आपसी हित र व्यापारिक प्रतिस्पर्धाबारे छलफल हुने बताएको थियो।








