गृहपृष्ठ Featured कबड्डी ४ : द फाइनल म्याच’ को पहिलो पोस्टर सार्वजनिक

कबड्डी ४ : द फाइनल म्याच’ को पहिलो पोस्टर सार्वजनिक

काठमाडौं : कबड्डी फिल्म सिरिजको चौथो फिल्म कबड्डी ४ : द फाइनल म्याच’ को पहिलो पोस्टर सार्वजनिक भएको छ। बिहीबार लेखक तथा निर्देशक रामबाबु गुरुङले आफ्नो फेसबुक अकाउन्ट मार्फत पोस्टर सार्वजनिक गरेका हुन्।

सार्वजनिक पोस्टरमा फिल्मका मुख्य अभिनेता दयाहाङ राई भिक्षुको रूपमा देखिएका छन्। कबड्डी सिरिजको अन्तिम फिल्म भनिएको ‘कबड्डी ४’ मा दयाहाङ भिक्षु बनेको संकेत पोस्टरले दिएको छ।

दर्शकले निकै रुचाएको कबड्डी सिरिजका सबै फिल्म व्यावसायिक रूपमा सफल फिल्म हुन्। पहिलो फिल्म ‘कबड्डी’ देखि नै दयाहाङ फिल्मको केन्द्रीय पात्रको रूपमा देखिँदै आएका छन्। सबै फिल्म दयाहाङले निर्वाह गरेको पात्र काजीलाई केन्द्रमा राखेर बनेका छन्।

असफल प्रेमीको रूपमा चित्रण गरिएको काजीको प्रेम अन्तिम फिल्ममा पनि सफल नहुने र जिन्दगीदेखि विरक्तिएर भिक्षु बनेको संकेत सार्वजनिक पोस्टरले गरेको छ। फिल्ममा कथा कस्तो छ र लेखकले ती पात्रहरूलाई अन्तिममा कस्तो मोड दिएका छन् भन्ने कुरा भने फिल्म हेरेपछि मात्र थाहा हुनेछ।

पोस्टरसँगै निर्देशक गुरुङले केही दिनमा फिल्मको टिजर सार्वजनिक हुने पनि बताएका छन्।

दुई दिनअघि मात्रै कबड्डी सिरिजको तेस्रो फिल्म ‘कबड्डी कबड्डी कबड्डी’ युट्युबमा सार्वजनिक भएको छ। हलमा ५१ दिन मनाउन सफल उक्त फिल्म यतिवेला युट्युब ट्रेण्डिङमा रहेको छ। समीक्षकबाट मिश्रित प्रतिक्रिया पाएको उक्त फिल्मले युट्युबमा उत्साहजनक प्रतिक्रिया पाइरहेको छ।

बाँसुरी फिल्म्स र सुष्मा प्रोडक्सनको संयुक्त प्रस्तुति रहेको फिल्ममा दयाहाङ सहित मिरुना मगर, विजय बराल, बुद्धि तामाङ, पुष्कर गुरुङ, कविता आले लगायतका कलाकारको मुख्य भूमिका रहेको छ।

सम्बन्धित् समाचार