गृहपृष्ठ Featured भक्तपुरमा आगो तापेर सुत्दा ३ महिने बच्चाको मृत्यु, आमा र बुबा गम्भीर

भक्तपुरमा आगो तापेर सुत्दा ३ महिने बच्चाको मृत्यु, आमा र बुबा गम्भीर

भक्‍तपुर : कोठाभित्र आगो तापेर सुत्दा एक शिशुको मृत्यु भएको छ भने दुई जना अचेत भएका छन्। सूर्यविनायक नगरपालिका-४ दधिकोट गाम्चास्थित भावना थापाको जस्ताले छाएको घरमा डेरा गरी बस्दै आएका रामेछापको मन्थली नगरपालिका घर भएका ३० वर्षीय अभिषेक रम्तेलका तीन महिनाका छोराको मृत्यु भएको महानगरीय प्रहरी वृत्त थिमिका प्रमुख एवं प्रहरी नायब उपरीक्षक नरहरि रेग्मीले जानकारी दिए।

जाडो बढेपछि शनिबार बेलुका खाना खाएर आगो बलिरहेको कोइला कोठामै राखेर सुतेकामा बिहान अबेरसम्म पनि नउठेपछि स्थानीय र प्रहरीले ढोका फुटाएर अचेत अवस्थामा तीन जनालाई उपचारका लागि मध्यपुर अस्पताल लगेको उनले जानकारी दिए।

शिशुको अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको र अभिषेक तथा उनकी श्रीमती २८ वर्षीया पसुना तामाङको उपचार भइरहेको र उनीहरुको अवस्था गम्भीर रहेको चिकित्सकले बताएको उनले जानकारी दिए।

त्यसैगरी आजै चाँगुनारायण नगरपालिका-१ दुवाकोट बेँसीस्थित रमेश बुढाथोकीको जस्ताको टहरामा झुण्डिएर मृत्यु भएको अवस्थामा एक पूर्वसैनिकको मृत्यु भएको छ।

सोलुखुम्बु लिखुपिके गाउँपालिका घर भई हाल दुवाकोटमा बस्दै आएका ३५ वर्षीय मोहन बस्नेतको मृत्यु भएको र दुवै घटनाको अनुसन्धान टोली बनाएर प्रहरीले अनुसन्धान सुरु गरेको प्रहरी उपरीक्षक रेग्मीले जानकारी दिए।

सम्बन्धित् समाचार