पाकिस्तान सरकारले अफगानिस्तानको तालिबानले पाकिस्तानविरोधी आतंकवादविधी समूहहरुलाई सुरक्षा दिएको भन्दै निरासा व्यक्त गरेको छ। संगठित आतंकवादी सञ्जालहरु अझै पनि अफगानिस्तानमा सक्रिय रहेको टिप्पणि गर्दै पाकिस्तानका राष्ट्रिय सुरक्षा सल्लाहकार मोइद युसुफले चिन्ता व्यक्त गरेका छन्।
राष्ट्रिय सुरक्षा सल्लाहकार युसुफले विदेश मामिलासम्बन्धी पाकिस्तनको राष्ट्रिय सभा स्थायी समितिलाई जानकारी दिँदै अफगानिस्तानमा प्रतिबन्धित तहरीक–ए–तालिबान पाकिस्तान ९टीटीपी० को उपस्थितिबाट पाकिस्तानलाई खतरा हुनसक्ने जानकारी दिए। ‘संगठित आतंकवादी नेटवर्कहरू अफगानिस्तानमा अझै पनि सक्रिय छन् र अफगानिस्तानको माटो अझै पनि पाकिस्तान विरुद्ध प्रयोग भइरहेको छ,’ युसुफले भने, ‘पाकिस्तान सरकार अफगानिस्तानमा तालिबान सरकार आएपछि पूर्ण रूपमा आशावादी छैन र हामीसँग जोडिएका सबै समस्याको पूर्ण समाधानको अपेक्षा गर्ने अवस्था छैन।’
गत अगस्ट १५ मा अफगानिस्तानको सत्तामा तालिबान पाकिस्तानमा आतंकवादी हमलामा वृद्धि भएको उनको टिप्पणि थियो। तालिवान सरकार पाकिस्तानप्रति नरम भएको चर्चा भइरहेका बेला इस्लामावादको कडा टिप्पणि आएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। तालिबानले आतंकबादी समूह टीटीपी विरुद्ध कारबाही गर्नुको सट्टा पाकिस्तानलाई उनीहरूसँग वार्ताका लागि दबाब दिएको छ।
टिटिपीले नोभेम्बर ९ मा एक महिना लामो युद्धविरामको घोषणा गर्दै आफ्नो शर्त अनुार सरिया कानुनको कार्यान्वयन पक्राउ परेका सबै विद्रोहीहरूलाई रिहा गर्नुपर्ने शर्त राखेको थियो। सरकारले माग पूरा गर्न अस्वीकार गरेको छ भने उक्त समूहले पनि युद्ध विराम लम्ब्याएन।
राष्ट्रिय सुरक्षा सल्लाहकार युसुफले टीटीपीले एकतर्फी युद्धविराम सम्झौता खारेज गरेको बताउँदै मुलुकलाई युद्धमा धकेल्ने समूहलाई कडा कारबाही गर्ने चेतावनी दिए। पाकिस्तानी तालिबानका रुपमा चिनिने उक्त समूहको शर्त पालना नहुने युसुफको भनाई थियो। यो समूह अलकायदासँग निकट रहेको मानिन्छ।
टिटिपी समूह पाकिस्तानमा सन् २००९ मा सेनाको मुख्यालयमा भएको आक्रमण, सैन्य अड्डाहरूमा भएको आक्रमण र २००८ मा इस्लामावादको मेरियट होटलमा भएको बम विष्फोटलगायतका थुप्रै घातक हमलाहरूका लागि दोषी ठहर भएको छ।








