सागर वि.क. (वैखरी अनलाईन) : कपिलवस्तुको बाणगंगा नगरपालिका वडा ११ मा गरिएको एकदिने स्वास्थ्य शिविरबाट १२५ जना बढी वडावासी लाभान्वित भएका छन् । वडा नं.११ को आयोजनामा हथौसा स्वास्थ्य चौकीमा भएको उक्त स्वास्थ्य शिविरबाट १२५ जना बढी वडावासी लाभान्वित भएका हुन् ।

स्वास्थ्य स्वयंसेविका प्रवर्धन र स्वास्थ्य सम्बन्धि कार्यक्रम अन्तर्गत निशुल्क गर्भवती चेकजाँच(भिडियो एक्स–रे) र दन्त रोग चेकजाँच शिविर गरिएको वडाध्यक्ष सोमनाथ अर्यालले वैखरी अनलाईनलाई जानकारी दिनुभयो । वडाध्यक्ष अर्यालले वडाले वडावासीको जनस्तरलाई उकास्न विगतदेखि नै विभिन्न कार्यक्रम संचालन गर्दै आईरहेको र आगामी दिनमा पनि वडावासीको आवश्यकतालाई मध्येनजर गर्दै रचनात्मक कार्य गर्दै जाने प्रतिवद्धता जनाउनुभएको छ । वडा भौतिक विकासले मात्र समृद्ध नहुने बताउँदै वडावासीको हरेक पक्षलाई सुदृढ बनाउन आफ्नो ध्यान केन्द्रित रहेको उहाँको भनाई छ ।
स्वास्थ्य मानव जीवनको एक महत्वपूर्ण पक्ष रहेकाले वडावासीको स्वास्थ्यस्तरलाई माथि उठाउनुपर्ने दायित्व वडाले पुरा गरिरहेको उहाँले बताउनुभयो ।
शिविरमा गर्भवती एवम् विपन्न परिवारका १२५ जना बढीले स्वास्थ्य शिवरको लाभ लिएका छन् । उनीहरुले वडाले समयसमयमा स्वास्थ्य शिविरसंगै अन्य शिविर संचालन गर्दै आएको भन्दै खुशी व्यक्त गरेका छन् । वडाध्यक्षले आर्थिक अवस्था कमजोर भएका विपन्न परिवारको अवस्थालाई बुझेर काम गर्दै आएकोमा धन्यवाद समेत दिएका छन् ।
कार्यक्रम वडाध्यक्ष सोमनाथ अर्यालको अध्यक्षता, वडा सदस्यहरु ईमकला के.सी., वजबुल लैन, जगनारायण थारु र सावित्रा वि.क.को विशिष्ट आतिथ्यता, स्वास्थ्य केन्द्र बरवाका ईन्चार्ज मदन पौडेल, स्वास्थ्य स्वयंसेविकाहरु, टोल विकास संस्थाका पदाधिकारी, स्वास्थ्य चौकीका कर्मचारी लगायतको आतिथ्यता रहेको कार्यक्रमको संचालन हथौसा स्वास्थ्य चौकीका प्रमुख राजु सुनारीले गर्नुभएको थियो ।








