नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल आदिवासी जनजाति संघका सभापति इन्द्रबहादुर गुरुङले पदबाट राजीनामा दिएका छन् । गुरुङले पार्टीको भूमिकामा असन्तुष्टि जनाउँदै सभापति शेरबहादुर देउवालाई राजीनामा बुझाएका हुन्। उनले कांग्रेसको क्रियाशील सदस्यसमेत नरहने गरी पदबाट राजीनामा दिएका छन्।
गुरुङले राजीनामापत्रमा कांग्रेसले भ्रातृ संस्थाहरुलाई बेवास्ता गरेको, १४औं महाधिवेशनमा भ्रातृ संस्थाहरूबाट पाउनुपर्ने मात्रामा महाधिवेशन प्रतिनिधि नबनाइएको, पार्टी हितभन्दा गुट–उपगुटमा नेताहरु विभाजित भएको लगायतका कारण उल्लेख गरेका छन्। गुरुङको राजीनामापत्रमा संघले विधान संशोधन गरेर संघीय संरचनानुसार संस्थालाई परिवर्तन गर्न २०७४ मै संशोधित विधानको प्रतिलिपी बुझाएको तर, पार्टीले स्वीकृत नगर्दा संघको अधिवेशन हुन नपाएकोलगायतका कारण नैतिक रुपमा पदमा बसिरहन उचित नरहेकाले राजीनामा दिएको उल्लेख गरेका छन् ।








