पूर्वी नवलपरासी : पूर्वी नवलपरासीमा एक अटो चालकको शंकास्पद मृत्यु भएको छ। ना २ ह ६१७३ नम्बरको अटो चालक कावासोती–१३ गैरी नयाँ बस्तीका ५२ वर्षीय माधवप्रसाद गिरि शंकास्पद मृत्यु भएको हो।
सोमबार राति बेपत्ता भएका गिरिको शव आज बिहान साढे ८ बजेतिर बौनाहाको सिलहट घोलमा पानीको दलदलमा गाडेको अवस्थामा फेला पारेको थियो। शव देखेपछि स्थानीयले प्रहरीलाई खवर गरेका थिए। मृतकको अनुहारमा चोट लागेको छ भने अटो घटनास्थलदेखि केही पर बाटोमा भेटिएको छ। घटनास्थल वरपर सिक्री, २ थान मोबाईल र जुत्ता फेला परेको छ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक प्रज्जवल महर्जनले घटना शंकास्पद भएको र घटनाको अनुसन्धान भइरहेको बताए। प्रारम्भीक अनुसन्धानअनुसार उनको हत्या भएको अनुमान गरिएको छ। अहिले घटनास्थललाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।








