जनकपुर : जनकपुरधाम नगरपालिकाद्वारा सञ्चालित अधिकांश योजना निर्धारित समयमै सम्पन्न हुन थालेका छन् । जनप्रतिनिधिको निरन्तरको निगरानी र कर्मचारीको सक्रियताका कारण जनकपुरधाम नगरपालिकाद्वारा सञ्चालित सडक, पुल र शहीद गेटलगायतका भौतिक पूर्वाधार निर्माण योजना समयमै सम्पन्न हुन थालेका हुन् ।
मुलुकका अधिकांश स्थानीय तहमा सञ्चालित योजना वर्षाौसम्म अलपत्र रहेको सूचना आइरहेका बेला जनकपुरधाम नगरपालिकाले नगरक्षेत्रको विभिन्न वडामा सञ्चालित योजना समयमै सम्पन्न हुन थालेपछि स्थानीयवासीले विकास भएको अनुभूतिसमेत गर्न थालेका छन् ।
जनकपुरधाम उपमहानगरपालिकाको योजनामध्ये महत्वपूर्ण योजना मानिएको धनुष आकारको शहीद गेट निर्माण कार्य अन्तिम चरण पुगेको छ । मधेशप्रदेशको जनकपुरधाम प्रवेशद्वार मुजेलियामा निर्माणाधीन सो मधेश शहीद गेटको करिब ९० प्रतिशत काम सम्पन्न भएको उपमहानगरपालिकाका वरिष्ठ इञ्जिनीयर वीरेन्द्रकुमार यादवले बताए ।
ढल्केवर-जनकपुर ६ लेन सडकको मुजेलियामा निर्माणाधिन मधेशशहीद गेटमा रङ्ग लगाउने, भगवान् राम र शहीदको प्रतिमा स्थापनाको काम बाहेक सम्पूर्ण कार्य सकिएको उनले बताए ।